भाले बाघमा रेडियोकलर जडान



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा राष्ट्रिय निकुञ्जको वयस्क भाले बाघमा रेडियोकलर जडान गरिएको छ । सडक वारपार गर्दा बाघले देखाउने प्रतिक्रिया, गर्ने व्यवहार र मानवसँगको सम्बन्धबारे अध्ययन गर्न पहिलोपटक पर्सा निकुञ्जका ८ वर्षीय वयस्क भाले बाघमा रेडियोकलर जडान गरिएको हो।जडान गरिएको रेडियोकलरलाई स्याटेलाइट र भीएचएफ प्रविधिमा कनेक्ट गरिएको र यसको सहयोगमा बाघको अध्ययन गर्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र सौराहाका प्रमुख संरक्षण अधिकृत समिर लामिछानेले जानकारी दिनुभयो ।

बाघको घाँटीमा जडान गरिएको रेडियोकलरलाई स्याटेलाइट र भीएचएफको माध्यमबाट कम्प्युटर र एन्टेनामार्फत बाघ कहाँ कुन क्षेत्रमा छ भनी हेर्न सकिने उहाँले बताउनुभयो । फागुन २ गते रेडियोकलर जडान गरिएको बाघलाई ९१ हप्तासम्म अध्ययन गरिने निकुञ्जले जनाएको छ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले संरक्षणलाई थप मद्दत पुग्ने ज्ञानहरू अनुसन्धानबाट बाहिर ल्याउन सकिने बताउनुभयो । पथलैया–अम्लेखगञ्ज र पथलैया–तामागढीको १७ किलोमिटर सडकखण्ड निकुञ्जसँग जोडिएको छ। सो सडक खण्डमा वर्षेनी दर्जनौं वन्यजन्तुहरूले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। पछिल्लो समय पुष १८ गते पथलैया सडक खण्डमा कारले ठक्कर दिँदा एक वयस्क दुर्लभ पोथी बाघको मृत्यु भएको थियो।पर्सा निकुञ्जसँग

जोडिएको तराई–काठमाडौं जोड्ने द्रुतमार्ग, हुलाकी राजमार्ग, विस्तार हुँदै गरेको ४ लेनको (पूर्वपश्चिम) राजमार्ग, रेलमार्ग, प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थल र वन क्षेत्रभित्र राखिएका हाइटेन्सन लगायत विस्तारित सडक पूर्वाधारका कारण बाघ र अन्य वन्यजन्तुको बासस्थान क्षेत्रहरू टुक्रिँदै र साँघुरिदै गएको निकुञ्जले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्