धुलिखेलको एउटा नमुना विद्यालय : महिलाहरुको नेतृत्व र ब्यवस्थापन, जिज्ञासु विद्यार्थी



मोतीराम तिमल्सिना,काभ्रे ।

बालज्योती आधारभुत विद्यालय धुलिखेल १० शारदाबतासेको कक्षा ३ मा अध्ययनरत रितिका कार्की कक्षामा पुग्ने वितिक्कै शान्तिको कामना सहित साथीहरुलाई प्रार्थना गराउनु हुन्छ । प्रार्थना पछि विद्यालयले तयार गरेको पाठ्यक्रमसँग सम्वन्धित गित गाउँछन् । गितसँगै उपस्थित सबैले शान्तिको कामना गर्छन । पाठको शुरुवात गर्नु अघि विद्यार्थीहरुले आफुले जानेको विषयमा बताउँछन । उक्त विषयमा अन्य विद्यार्थीहरुले प्रश्न सहितको जिज्ञासा राख्छन् ।

नगरपालिकाले शुरु गरेको कक्षा १ देखि ३ सम्मको बहुकक्षा बहुस्तर सिकाई विधीका कारण बच्चाहरु प्रश्न सोध्न सक्ने, जिज्ञासा राख्ने र उत्साहित हुँदै गएका छन् । आधारभुत विद्यालयमा शिशु कक्षा देखि ८ सम्म १० वटा कक्षा अंग्रेजी माध्यमबाट संचालन हुँदै आएको बालज्योती आधारभुत विद्यालय महिलाहरुद्वारा संचालन गरिएको छ ।

नमुना त के छ भने विद्यालय ब्यवस्थापन समितिमा सबै महिलाहरु हुनुहुन्छ । विद्यालयले विद्यार्थी प्रतिनिधि पनि छात्रालाई पठाएको छ । नगरपालिकाले सबै शिक्षकहरु महिला मात्रै ब्यवस्थापन गरिदिएको प्रधानाध्यापक कौमा काफ्ले भट्टराईले बताउनु भयो । महिलाहरुद्वारा मात्रै संचालन र ब्यवस्थापन गरिएको विद्यालय नमुना बनाउने उदेश्यले ब्यवस्थापन समिति तथा विद्यालयमा शिक्षकहरु महिला मात्रै छनौट गरिएको उपप्रमुख विमला शर्माले बताउनु भयो ।

विद्यालयमा कार्यालय सहयोगी पनि महिला नै राखिएको छ । अघिल्लो विद्यालय ब्यवस्थापन समितिले हरेक क्षेत्रमा सहयोग, समन्वय र सल्लाह दिईरहेको विद्यालयकी प्रधानाध्यापक कौमा काफ्लेले बताउनु भयो । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सामुदायिक विद्यालयमा बहुकक्षा बहुस्तर सिकाई विधी कार्यान्वयन गरी विद्यार्थीहरुलाई तल्लो तह देखि नै जिज्ञासु, मेहनती र अध्ययनका लागि सहज बनाउने बताउनु भयो ।

१ सय ३६ जना विद्यार्थीहरु अध्ययन गरिरहेको उक्त विद्यालयमा बालमैत्री सिकाई रहेको प्रधानाध्यापक काफ्ले बताउनु भयो । कक्षा १ देखि ३ सम्म नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रमका केहि पाठहरु पढाउन शुरु गरिएको छ भने पर्यटन, वातावरणसँगै आगामी शैक्षिक सत्र देखि कृषि विषयको पाठ पढाउन र ब्यवहारीकताका लागि विद्यालय परिसरको जमिन तयार गरिएको छ ।

नगरपालिकाको शिक्षा शाखाद्वारा संचालन हुने बार्षिक तीनवटा परिक्षाको अलावा विद्यालयले साप्ताहिक, पाक्षिक र मासिक परिक्षा संचालन गरी विद्यार्थीहरुको कमिकमजोरी पत्ता लगाई गुणात्मक शिक्षामा जोड दिएको छ । प्रत्येक विद्यार्थीको प्रोफाईल तयार गरिएको छ । सरकारले कक्षा ५ सम्मलाई उपलब्ध गराएको दिवा खाजा कार्यक्रम कक्षा ८ सम्मै संचालन गरिएको छ । कक्षा ६–८ का विद्यार्थीहरुबाट दैनिक १०, शिक्षकहरुबाट ३० रुपैयाका दरले रकम संकलन गरी स्थानीय उत्पादन भएका खाजा खुवाउन शुरु गरिएको छ । पूर्ण रुपमा जंकफुडको अन्त्य गरिएको छ ।

विद्यालय आउन मात्रै होईन विद्यालय आए पछि फर्कन नचाहने बालबालिकाहरुको बानीले सिकाईमा सहजता भएको प्रधानाध्यापक काफ्लेले बताउनु भयो । नगरपालिकाको पहिलो बालमैत्री वडा अथार्त सिङ्गो नगरपालिका नै बालमैत्री भएको अवस्थामा बालविवाहको अन्त्य, कक्षा छाड्ने र अन्य जाने कुराको अन्त्य भएको प्रधानाध्यापक काफ्लेले बताउनु भयो । ११ जना मध्ये तीन जना शिक्षक नीजि श्रोतमा छन् । उनिहरुको निरन्तरताको लागि विद्यालयसँग आन्तरिक श्रोत नभएकाले कठिनाई भएको उहाँले बताउनु भयो ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमा केसीले नगरको मात्र नभई जिल्लाकै नमुना विद्यालय बनाउने गरी सक्रिय रहेको बताउनु भयो । पुर्वाधार निर्माण हुँदै गरेको भए पनि सम्पन्न नभएका कारण असहज भएकाले विद्यार्थीहरुले बताए । कोरोना महामारीका बीच पनि बालबालिकाहरुलाई नियमित कक्षा संचालन गरी सिकाई अभ्यास जारी राखेको उक्त विद्यालयले तयार गरेका बालबालिकाहरु अब्बल हुने दावी विद्यालयले गरेको छ ।

वडा अध्यक्ष पुष्पराज राउतले विद्यालयलाई बालमैत्रीका साथै गुणस्तरीय र ब्यवहारीक शिक्षाका लागि आवश्यक पूर्वाधार सहितको जनशक्ति ब्यवस्थापन गरिरहेको बताउनु भयो । केहि कठिनाई भए पनि नगरपालिका र वडा मार्फत सहजिकरण भईरहेको अध्यक्ष राउतले बताउनु भयो । नमुना विद्यालय निर्माणका लागि वडा समिति, स्थानीय अभिभावक र विभिन्न संघ संस्थाको सक्रियता रहेको उहाँले बताउनु भयो । सामुदायिक सारथीको स्थानीय जवाफदेहिता तथा पारदर्शिता पहल परियोजना मार्फत विद्यालयको अवलोकन गरिएको थियो ।

अवलोकनका क्रममा विद्यालयको शैक्षिक गतिविधि, ब्यवस्थापन तथा बालबालिकाहरुको अवस्थाका बारेमा जानकारी लिईएको थियो । अवलोकनका क्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, सामुदायिक सारथीबाट सामुदायिक परिचालक सरस्वती श्रेष्ठ
जवाफदेहि निगरानी समुहका संंयोजक सुविना मानन्धर, सदस्यहरु समय लामा र प्रदिप तामाङ लगायतको सहभागिता रहेको थियो । उक्त टोलीले सोहि वडा हुँदै १२ नम्वर वडा शंखु जाने सडक अवलोकन गरी उपभोक्ता समिति गठन, परिचालन र कार्य सम्पन्नसम्म हुँदा आई परेका समस्या र अवस्थाका बारेमा अवलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्