बनेपा नगरपालिको नगर सभा सम्पन्न, बाजेबज्यै पार्क र सांस्कृतिक संग्राहलय निर्माणको प्रस्ताव



मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिकाको सातौ नगर सभा मंगलबार नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा सम्पन्न भएको छ । नगर सभाले बनेपा नगरपालिका बजार भित्र बाजेबज्यै पार्क निर्माण लगायत सांस्कृतिक संग्राहलय निर्माणका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

नगर सभाले आर्थिक विकासको क्षेत्रगत प्रगति, सामाजिक विकास, आर्थिक विकास र सामाजिक विकास क्षेत्रको प्रतिवेदन प्रस्तुत गरी प्रतिवेदन उपर वडा अध्यक्षहरुको सुझाव र धारणा प्रस्तुत गरिएको थियो ।

त्यस्तै नगर सभामा वन, वातावरण, विपद ब्यवस्थापनमा भएको प्रगति तथा आगामी कार्ययोजना, सुशासन तथा संस्थागत विकासका बारेमा जानकारी गराईएको थियो । पूर्वाधार विकास समितिले गरेको क्षेत्रगत प्रगति, वन, वातावरण, विपद ब्यवस्थापन, सुशासन तथा संस्थागत विकास र पूर्वाधार विकास क्षेत्रका प्रगति, वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्वन्धमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुत गरिएको थियो ।

नगर प्रमुख लक्ष्मीनरसिं बादेले बनेपा नगरपालिकामा ऐतिहासिक सांस्कृतिक संग्राहलयका लागि कार्यदल गठन, जनशक्ति विकासको लागि कार्यदल गठनको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । सोहि प्रस्तावलाई नगर सभाले अनुमोदन गरेको छ । त्यस्तै बनेपामै निर्माण गरिने बाजेबज्यै पार्क निर्माणका लागि प्रस्ताव गर्नु भएको थियो ।

सोहि प्रस्तावलाई नगर सभाबाट अनुमोदन गरिएको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले जानकारी दिनु भयो । सोहि सभाले प्रशासनिक निर्णयहरुको अनुमोदन गरेको प्रमुख प्रशासकिय अधिकृत उप्रेतिले बताउनु भयो ।

शुन्य समयमा नगर सभा सदस्यहरुले नगरका समग्र विकासका बारेमा धारणा राख्नु भएको थियो । विहान शुरु भएको नगर सभा दिउसो समापन भएको छ । सभामा उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले गरिरहेका समग्र विकास र योजनाका बारेमा जानकारी गराउँदै नगर सभा सदस्यहरुलाई स्वागत गर्नु भएको थियो ।

नगर सभामा प्रस्तुत भएका विधेयकहरु पनि सर्वसम्वत पास भएको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्