निजी क्षेत्रको समस्या सम्बोधन गर्न ‘भिजन पेपर’ तयार हुँदै



नेपाल समाचारपत्र, बुटवल ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताउनु भएको छ । मुलुकको अर्थतन्त्रको सूचकांक जीडीपीलाई १० प्रतिशतभन्दा माथि पु¥याउन र रोजगारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवलाई समेत समेटेर भिजन पेपर तयार गरिएको उहाँले जानकारी गराउनुभयो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा भएको ६७औं वार्षिक साधारण सभा तथा २४औं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताको लागि सीएनआईलगायतका अरु संस्थासँग समेत छलफल भइरहेको जानकारी गराउनुभयो । आफ्नो नेतृत्वको नेपाल उद्योग बाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिवृद्धि गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको जानकारी गराउनुभयो ।महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यावसायिक संस्थाबीच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यवसायको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले महासंघले विज्ञसहितको राहत सेल बनाउन लागिएको जानकारी गराउँदै विशेषगरी बैंकिङ, राजस्व, श्रमको समस्यामा परेका व्यवसायीलाई राहतको काम गर्ने उल्लेख गर्नुभयो । त्यस्तै मेलमिलाप केन्द्र बनाउन लागिएको र त्यस केन्द्रले उद्योग व्यवसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र अदालतस“ग समन्वय गरेर गरिने उक्त केन्द्रको निर्णयलाई मुद्दा सर्वोच्चमा गए पनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गर्नुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपुर औद्योगिक क्षेत्रलगायतका कारण यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रशस्त रहेको उहाँले औंल्याउनुभयो ।त्यस्तैगरी लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशमै उद्योग दर्ता गर्ने भएपछि दर्ताको संख्या पर्याप्त भए पनि उद्योग सञ्चालन हुन नसकेको बताउँदै त्यसका समस्या के हुन् सुझाव दिन आग्रह गर्नुभयो । सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले उद्योग व्यवसायका समस्या के छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ ? संगै बसेर छलफलको लागि समेत आफू तयार रहेको बताउनुभयो ।उपाध्यक्ष गौतमले उद्योगी व्यवसायीका समस्या समाधानको लागि व्यवसायी र संघीय सरकारको बीचमा मध्यस्थता गर्दै आएको बताउँदै समस्या समाधानको लागि व्यावसायिक संस्थाले समेत पहलकदमी गर्न आग्रह गर्नुभयो । उहाँले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काम यसै हप्तादेखि शुरु हुने जानकारी गराउँदै बुटवल–पाल्पा सडक खण्डमा पर्ने दोभान क्षेत्रको समस्या समाधानको लागि प्रदेश सरकारले प्लानिङ गरेको र त्यसलाई संघीय सरकारमा पहल भइरहेको समेत जानकारी गराउनुभयो ।

त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले सरकारको अस्थिरताको कारण निजी क्षेत्रका समस्या जस्ताको त्यस्तै रहेको बताउँदै मुलुकको अर्थतन्त्र सुदृढीकरणको लागि सरकार निजी क्षेत्रमैत्री हुनुपर्ने र लगानीमैत्री वातावरण बनाउनुपर्ने भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्