बैंक अफ काठमाण्डूको अगुवाईमा अपर खुदीमा लगानी



काठमाडौं, (नेस) ।

बैंक अफ काठमाण्डू र सुपर खुदी जलविद्युत् प्रालिबीच अपर खुदी जलविद्युत् आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।२१ दशमलव २१ मेगावाट क्षमता रहेका आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रुपियाँ रहेको छ । सुपर खुदी जलविद्युत् प्रालिले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा उक्त आयोजना निर्माण गरिरहेको छ । बैंक अफ काठमाण्डूको अगुवाइमा रहेकोे उक्त सहवित्तीयकरणको सदस्य बैंकमा ग्लोबल आइएमई बैंक, सिभिल बैंक, मेगा बैंक नेपाल तथा नेपाल क्रेडिट एन्ड कमर्स बैंक रहेका छन् ।

उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तीयकरण कर्जा र बा“की ३० प्रतिशत उक्त कम्पनीको लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत् तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ । साथै यस सहवित्तीयकरण कर्जापश्चात् आयोजना निर्माणमा सहयोग पुग्ने र समय सिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । साथै ऊर्जा क्षेत्रमा बैंकको सम्लग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्