फागुन २७ गतेदेखि शहीद स्मृति गोल्डकप शुरू हुँदै



हेटौंडा, (नेस) ।

हेटौंडामा फागुन २७ गतेदेखि स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गतेसम्म चल्नेछ ।मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लबसहित १० टोलीको सहभागिता रहने आयोजक मकवानपुर फुटबल संघले जनाएको छ । प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा–१० मा रहेको बनविज्ञान अध्ययन संस्थान (फरेस्ट्री) खेल मैदानमा हुनेछ ।

प्रतियोगिता विजेता टोलीले ट्रफीसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले ट्रफीसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । विधागत उत्कृट हुने खेलाडीले ट्रफीसहित नगद २५÷२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एक म्यान अफ दी म्याचलाई नगद ५ हजारले पुरस्कृत गरिने जनाएको छ ।जिल्लाका १० वटै स्थानीय सरकारको आर्थिक सहयोगमा हुने प्रतियोगिताको अनुमानित लागत ९४ लाख ४० हजार ५ सय रहेको प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।

एन्फा क्यालेन्डरअनुसार प्रतियोगिता पछाडि सार्दा कोरोना भाइरस संक्रमणका कारण प्रतियोगिता स्थगित हुन पुगेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो ।पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुरले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्