युनाइटेड र सिटीको जित



लन्डन, (एजेन्सी) ।

म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जितको नतिजा निकालेको छ ।
आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले रेलिगेसन क्षेत्रनजिक रहेको न्युक्यासललाई पराजित गर्दा सिटीले पनि बलियो आर्सेनललाई हरायो । युनाइटेडले न्युक्यासललाई ३–१ ले पराजित गरेको हो ।

युनाइटेडको जितमा मार्कस रासफोर्डले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले खेलको ३०औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । जारी सिजनमा रासफोर्डको यो १८औं गोल हो । तर, एलान सेन्ट म्याक्समिनले खेलको ३६ औं मिनेटमा गोल गर्दै न्युक्यासलाई खेलमा फर्काएका थिए । यता खेलको ५७औं मिनेटमा डानियल जेम्सले गोल गरेपछि युनाइटेडले खेलमा पुनः अग्रता बनाएको थियो । त्यस्तै, ब्रुनो फर्नान्डेसले खेलको ७५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई सहज जित दिलाए ।जारी सिजन फर्नान्डेसको यो २२औं गोल हो । यो जितसँगै युनाईटेडको २५ खेलबाट ४९ अंक पुगेको छ । न्युक्यासलको भने २५ अंक रहेको छ । आइतबार राति नै भएको अर्को खेलमा सिटीले आर्सेनललाई १–० गोलअन्तरले हराएको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा सिटीलाई जिताउन रहिम स्टर्लिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो मिनेटमा रियाद महारेजको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल भएन र सिटी विजयी बन्यो ।

यो जितसँगै सिटीको २५ खेलबाट ५९ अंक भएको छ । यता पराजित आर्सेनलको भने ३४ अंक छ । त्यस्तै, अर्को खेलमा जेम्स माडिसन र हार्भे बान्र्सले गोल गरेपछि लेस्टर सिटीले पनि एस्टन भिल्लालाई २–१ ले हरायो । माडिसनले १९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेट पछि नै बान्र्सले गोल गरेपछि टोलीले खेलमा पकड बनाएको थियो । दोस्रो हाफकै शुरुआतमा बेरट्रेन्ड ट्राउरेले गोल गर्दै भिल्लालाई खेलमा फर्काउने कोशिस गरेका थिए । माट टारगेटको क्रसमा ट्राउरेले गोलपोस्ट नजिकैबाट गोल गरेका थिए । पछिल्ला चार खेलमा लेस्टरको यो तेस्रो जित हो ।

प्रतिक्रिया दिनुहोस्