बाघचौरका डिसी चितुवाको छालासहित पक्राउ



नेपाल समाचारपत्र, बाँके ।

सल्यान बाघचौरका जितबहादुर डिसीले दुई वर्षअघि पासोमा पारेर चितुवा मारे । चितुवाको छाला निकालेर राखे । चितुवाको छालाको फोटो खिचेर मोबाइलमा सेभ गरे । सल्यान थारमारेका अर्जुनले जितबहादुरको मोबाइलमा चितुवाको छाला देखे ।अर्जुनले जिमालीका दीपक रावतसँग जितबहादुरसँग चितुवाको दुईवटा छाला रहेको कुरा गरे । दीपकले जितबहादुरलाई भेटेर चितुवाको छाला बिक्री गर्ने भए नेपालगन्जका व्यापारीसँग कुरा गराइदिन्छु भने ।

४० देखि ६० लाख रुपियाँमा बिक्री हुने निष्कर्ष निस्किएपछि डिसीसहित तीन जना छाला बेच्न नेपालगन्जका लागि निस्किए । डिसीसँग सल्यानका हिमेन्द्र वली र कमल डिसी साथमा थिए । दीपकले नेपालगन्जमै भेट्ने कुरा गरे ।चितुवाको छाला बोकेर नेपालगन्जका लागि हिँडेका तीन जना बाँकेको सीमानामै पक्राउ परे । फाल्गुन ९ गते साँझ बाँकेको राप्तीसोनारी गाउँपालिका–१ मा पर्ने कुसुममा पक्राउ पर्दा जितबहादुरले बोकेको कालो झोलामा दुई थान चितुवाको छाला राखिएको थियो ।जितबहादुरले सल्यानमै चितुवा मारेका थिए । बाँके राष्ट्रिय निकुञ्जले सल्यानसमेत छुने भएकाले निकुञ्जको हुन सक्ने आशंका गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले चितुवाको छालासहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाउने जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०१९ को दफा २६ (२) बमोजिम यस्तो मुद्दामा एक लाखेदेखि २५ लाखसम्म जरिवाना र एक वर्षदेखि दश वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।यसै बीच, बाँके प्रहरीले १० लाख रुपियाँ भारुसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट हिँड्दै नेपालगन्ज आउँदै गरेका दिल्ली जफ्फारावादका मुनवर खानलाई प्रहरीले १० लाख भारुसहित पक्राउ गरेको हो । खानले आफू नेपालमा पित्तलको धूलो खरिद गर्न आएको बताएका छन् ।प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर बताएअनुसार १ लाख ५० हजार १ सय ६५ रुपियाँसहित नौ जना जुवाडे पक्राउ परेका छन् । यस घटनाले बाँकेमा चाडबाड मात्रै नभएर अरू बेला पनि ठूलो हारजित हुने गरी जुवा खेल्ने गरेको पुष्टि गरेको छ ।बाँके प्रहरी चालू आर्थिक वर्षमा ३४ लाख ८० हजार ६ सय १५ रुपियाँसहित ३५ जना जुवाडेलाई कारबाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्