ओली–प्रचण्ड विवाद :कार्यक्रममा प्रयोग गरिएको गाडी तोडफोड



नेपाल समाचारपत्र, काभ्रे ।

चौरीदेउराली गाउँपालिका–५ बिरुवामा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता–कार्यकर्ता चढ्ने गाडी आइतबार राति रोकेर राखेको ठाउँमा तोडफोड भएको छ । उक्त घटना प्रचण्ड–माधव समूहले घटाएको भन्दै ओली समूहले पे्रस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेको छ ।

विचारको बहस सकिएपछि प्रचण्ड–माधव समूह आक्रमणमा उत्रिएको नेकपा काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले विज्ञप्तिमार्फत भन्नुभएको छ । नेकपा ओली समुहले जिल्लामा जिल्ला कमिटी पुर्नगठन गरी दुई महिने पार्टी अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा १ सय ३५ वटा वडा कमिटीमध्ये ८० वटा वडा कमिटीको पुनर्गठन तथा जनवर्गीय संगठनहरु पुनर्गठन र प्रशिक्षण सकिएको नेकपा काभ्रेले जनाएको छ । गाउँ तथा नगर कमिटी भेला र प्रशिक्षण, प्रदेश कमिटीहरुको पुनर्गठनका लागि अभियान लिएर गाउँ गएको नेकपाको टोली बिरुवामा बास बसेको थियो ।

पूर्वमन्त्री एवं नेकपा इन्चार्ज गोकुल बाँस्कोटासहितको नेता–कार्यकर्ताले घटनाको भत्र्सना गर्दै आइन्दा यस्ता घटना दोहोरिन नदिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।चौरीदेउराली गाउँपालिकाको पोखरीचौरीलगायतका केही साविकका गाविहरु माओवादीको वर्चश्व मानिँदै आएको थियो । पूर्व माओवादी समूहका नेताहरु चूडामणि गौतम ‘हेमक’, प्रकाश गौतम, राजेन्द्र गौतम, गुणराज चौलागाईं तथा पूर्वएमालेका नेताहरु लेखराज गौतम लगायतका समूह ओली निकट समूहमा सहभागी भई चौरीदेउरालीका सबै वडाहरुमा कार्यक्रम गरेपछि प्रचण्ड–माधव समूह आत्तिएर उक्त घटना घटाएको ओली समूहको आरोप छ ।
रीता ढकाल, इन्द्र तामाङलगायतको समूह धुसेनी शिवालयको कार्यक्रम सकेर आइतबार राति पोखरीचौरीको बिरुवामा बास बस्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्