महिला हिंसाको प्रमुख कारण गरिबी



दयाराम पण्डित, बाजुरा ।

 नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिला हिंसा, बलात्कार, हत्याको प्रमुख कारण गरिबी र चेतनाको कमी भएको बताउनुभएको छ । प्रेस युनियन बाजुराले सोमबार आयोजना गरेको पत्रकार सम्मेललनमा उहाँले उक्त अभिव्यक्ति दिनुभएको हो ।पत्रकारले यौन हिंसा, महिला हिंसा र हत्याका घटना बढ्नुको प्रमुख कारण के हो ? भनी सोधेको प्रश्नको जवाफ दिँदै आफूहरुले लामो समयसम्म सञ्चालन गरेको अभियानको अध्ययनअनुसार गरिबी तथा चेतनाको कमी नै हिंसाको प्रमुख कारण भएको निष्कर्ष निकाले संग्रौलाले बताउनुुभयो ।

हत्या, हिंसा र बलात्कारलाई मुख्य एजेन्डा बनाई अभियान सञ्चालन गर्दै आएकी नेतृ संग्रौलाले जघन्य अपराधमा ठूलाबडाको नै हात बढी हुने गरेको पनि बताउनुुभयो । ठूलाबडाका आसेपासेले यस्ता खालका घटनाहरु गर्ने र पैसाको चलखेलमा अपराधी पत्ता नलाग्ने तथा लागे पनि निर्दोषले कारबाही भोग्नुपर्ने अवस्था सिर्जना हुने गरेको उहाँको कथन छ । सत्ता र शक्तिको आडमा प्रहरीको अनुसन्धान पनि फितलो हुने गरेको संग्रौलाको आरोप छ । ५० प्रतिशत हिंसा फितलो अनुसन्धान र ५० प्रतिशत हिंसा गरिबीका कारण सम्बद्ध निकायमा पुुग्न नपाई गाउँमै मिलिोमतोको आधारमा मिलाउने गरेको उहाँको बताउनुुहुन्छ ।

संसद् विघटनको विषयमा गरेको प्रश्नको जवाफ दिँदै उहाँले प्रधानमन्त्रीद्वारा संसद् विघटनको सिफारिसपश्चात् सोच्दै नसोची संसद् विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई रबर स्ट्याम्प भएको आरोप लगाउनुभयो । संग्रौला जनताले दिएको जनादेशको आडमा कैयौं नेपालीको रगतले बनेको संविधानको उल्लङ्घन गरी संसद् विघटन गर्ने नेकपाको सरकार असफल सरकार भएको पनि बताउनुभयो ।निर्वाचनमा दुई पार्टी मिलेर सरकार आफ्नो हातमालिने र अहिले सरकारमा रहेका व्यक्तिलाई काम गर्न नदिई संसद् विघटन गर्न बाध्य बनाउने माधव–प्रचण्ड पक्ष पनि सही नभएको र काम गर्न दिइएन भन्ने कुरालाई लिएर संसद् विघटन गर्ने प्रधानमन्त्री ओली गलत र असफल भएको उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्