पूर्वराष्ट्रपति ट्रम्पले किमसमक्ष अस्वाभाविक प्रस्ताव राखेको खुलासा



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१९ मा भियतनामको राजधानी हनोईमा भएको एक शिखर वार्ताको दौरान उत्तर कोरिया सर्वोच्च नेता किम जोंग उनसमक्ष एउटा अस्वाभाविक प्रस्ताव राखेको तथ्य अहिले आएर सार्वजनिक भएको छ । ट्रम्पको राष्ट्रिय सुरक्षा परिषद्का एसियाली मामिलासम्बन्धी प्रमुख विशेषज्ञ म्याथ्यु पोटिन्जरले राष्ट्रपति ट्रम्पले किमलाई अमेरिकी एयर फोर्स अन विमानमा राखेर घरसम्म छोडिदिने प्रस्ताव राखेको हालै बीबीसीलाई जानकारी गराएका छन् ।

सो वार्ताको दौरान दुवै नेता उत्तर कोरियाको पारमाणविक हात हतियार विकास कार्यक्रम रोेक्ने विषयमा सहमतिमा पुग्न नसक्दा पनि ट्रम्पले यत्रो हार्दिक प्रस्ताव राख्नु अझै अस्वाभाविक रहेको विश्लेषकहरूको भनाइ रहेको छ । त्यतिबेला किमले पहिला उत्तर कोरियामाथि लगाइँदै आएको नाकाबन्दी केही हदसम्म फुकुवा गर्न राखेको प्रस्ताव ट्रम्पले अस्वीकार गरेकाले वार्ता असफल भएको थियो ।ट्रम्पले किमलाई चढ्न प्रस्ताव राखेको अमेरिकी वायु सेनाको सो विमान विश्वकै सबैभन्दा सुरक्षित विमान मानिन्छ । तर, किमले ट्रम्पको विमानमा लिफ्ट दिने प्रस्तावलाई अस्वीकार गरेका थिए ।

तर, ट्रम्पको यस्तो आकस्मिक र अस्वाभाविक प्रस्ताव सुनेर साथमा रहेका ट्रम्पका सहयोगीहरू सबै छक्क परेको पोटिन्जरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।पोटिन्जरले बीबीसीलाई भनेका छन्, ‘राष्ट्रपति ट्रम्पलाई किम थुप्रै दिन लगाएर चीन हुँदै ट्रेन यात्राबाट हनोई आइपुगेको कुरा थाहा थियो । त्यसैले, ट्रम्पले किमलाई यदि उनले चाहेको खण्डमा उनलाई दुई घन्टाभित्रै घर पु¥याइदिने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्