भागरथी हत्या प्रकरण: दिनेशमाथि अनुसन्धानका लागि अझै ५ दिन म्याद थप



विनोदसिंह विष्ट, बैतडी ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत बैतडीले सोमबार अनुसन्धानका लागि थप ५ दिनका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।यसअघि गत बुधबार सार्वजनिक गरिएका १६ वर्षीय दिनेशमाथि अनुसन्धानका लागि अदालतले ५ दिनका लागि अनुमति दिएको थियो । उक्त म्यादमा अनुसन्धानको क्रम नसकिएकाले थप ५ दिनका लागि अनुमति लिइएको हो ।

बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसूरमा कारबाहीका लागि जाहेरी दर्ता गर्नुभएको थियो । कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लबलेक जंगलमा बीभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा दिनेशको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेश भागरथीकै गाउँका हुन् । उनी नातामा भागरथीको भाइ पर्दछन् ।सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म हत्या मात्रै गरेको र बलात्कार नगरेको बताउँदैं आएकोमा बिहीबार सरकारी वकिलसमक्ष दिनेशका बुबासमेत राखेर लिइएको बयानमा उनले बलात्कारसमेत आफैंले गरेको स्वीकारेका थिए । घटना माघ २१ गते दिउँसो नै भएको प्रहरीले जनाएको छ ।

यसअघि जिल्ला अस्पताल बैतडीमा भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख गरिएको थियो । घटनामा संलग्न पत्ता नलागेको भन्दै भागरथीका परिवार यसअघि शव बुझ्ना मानेका थिएनन् । शुक्रबार भागरथीको शव बुझेर १७औं दिनमा अन्त्येष्टि गरिएको थियो ।दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा सार्वजनिक गरिएको प्रहरीले बताएको छ ।भागरथीको भजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएको छ । उक्त परीक्षण रिपोर्ट बलात्कार सामूहिक हो वा एकल हो भन्ने पत्ता लाग्नेछ ।

यस्तै, प्रहरीको थुनामा रहेका दिनेशको पनि डीएनए परीक्षणका लागि प्रयोगशाला पठाइने तयारी भएको छ । यसका साथै थप प्रमाण जुटाउने काम पनि गरिरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘थप तथ्य र प्रमाणहरु भिडाइरहेका छौं, हामी अनुसन्धानकै क्रममा छौं, अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा अहिले भन्न मिल्दैन ।’दिनेशले बयानमा पुरानो घरायशी रिसइबी र उक्त दिन विद्यालयमा भागरथीले आफूलाई जिस्काएकाले घर फर्किने बेला बाटोमा सो घटना गराएको बताएका छन् । भागरथी दोगडाकेदार गाउँपालिका–३ स्थित सनातन धर्म माविमा कक्षा १२ अध्ययनरत रहेकी थिइन् भने दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेका थिए ।

घर जाने बाटोमा पर्ने लबलेक जंगलमा पुगेपछि पहिला सडकबाट धकेलेर भीरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेको समेत बयान दिएका छन् ।घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरेको थियो । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरु खटिएका थिए । हाल वरिष्ठ उपरीक्षक पाण्डेको टोलीको नेतृत्वले जिल्लामा बसेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्