प्रधानन्यायाधीश र प्रधानसेनापति भेटको गसिप



विकास भट्टराई, काठमाडौं  ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार एकाएक भेटघाट भएको भन्ने सार्वजनिक भएपछि धेरै गसिप सामाजिक सञ्जालमा व्याप्त भए ।कतिपयले भने कि अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पनि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीजस्तै निर्वाचन सरकारका लागि मन्त्रिपरिषद्को अध्यक्ष बन्दै छन् ।

केहीले चर्चा गरे कि अब सर्वोच्च अदालतबाट संसद् विघटनको निर्णय सदर हुने भयो र त्यसको प्रभाव सुरक्षा मात्र होइन रक्षा सम्बन्धमा पनि पर्नेवाला छ ।त्यसै गरी, कतिपयले त संसद् पुनःस्थापना हुने भएकाले असर के पर्न सक्छ भनेर छलफल भएको हो, तर खासमा कुरा त्यस्तो थिएन ।कुरा प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच एउटा सार्वजनिक जग्गामा भवन निर्माणसम्बन्धी भएको थियो । र, भेटघाटको स्थान थियो सर्वोच्च अदालत । भवन निर्माण गरिने भनिएको जग्गा थियो– सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको स्थान ।सेनाको क्याभलरी रहेको उक्त जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा लामो समयदेखि चलिरहेको थियो सोही सन्दर्भमा सोमबार प्रधानसेनापतिलाई प्रधानन्यायाधीशले बोलाउनुभएको सर्वोच्च स्रोतले जनाएको छ ।

यसपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँविरुद्ध परेको अपहेलना मुद्दामा लिखित जवाफ दर्ता गराउन सर्वोच्च अदालत जानुभएको समयमा ओलीले उक्त जग्गाको निरीक्षणसमेत गर्नुभएपछि सो सन्दर्भ अघि बढेको थियो । सर्वोच्च अदालतले आफ्नो परिसर साँघुरो भएका कारण सेनाको क्याभलरीको जग्गा आफ्नो नाममा नामसारी गर्नका लागि प्रक्रिया शुरु गरेको थियो ।यसैबीच सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिले आफ्नो भवनअघिको परिसरमा रहने गरेको कानुन व्यवसायीको सम्पूर्ण सवारीसाधान सर्वोच्च अदालत मूल भवन पछाडिको जमिनमा व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्