‘मातृभाषाको पत्रकारिता फुल्न र फल्न लोकतन्त्र मात्र पर्याप्त छैन ’

मातृभाषाको पत्रकारिताको लागि राज्य विशेष ध्यान जानुपर्नेमा जोड



न्युज अफ नेपाल, काठमाडौं ।
मातृभाषा पत्रकारिताको विकासको लागि उदार लोकतान्त्रिक व्यवस्था मात्र पर्याप्त नभएको सम्बद्ध विज्ञहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले राजधानीमा आयोजना गरेको मातृभाषा पत्रकारिताको विकासको सन्र्दभमा नेपालभाषाको पत्रकारिताको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् ।

‘मातृभाषाको पत्रकारिताको लागि प्रेस स्वतन्त्रता, वाक तथा अभिव्यक्ति स्वतन्त्रता नभई नहुने तत्व हो, तर पर्याप्त भने होइन । २०४६ सालको प्रजातन्त्र पुनःस्थापनादेखि आज लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था सम्मको कालखण्डमा मातृभाषाको पत्रकारिताको अभ्यासबाट निस्किएको निचोड हो ।’ नेपाल भाषा दैनिकका सम्पादक एवं वरिष्ठ पत्रकार सुुरेशकिरण मानन्धरले भन्नुभयो ।

मातृभाषाको पत्रकारिताको लागि सबै जातजाति, भाषाभाषीको उचित प्रतिनिधित्व, पहिचान र आत्मसम्मान हुने संघीय व्यवस्था हुनुपर्ने उल्लेख गर्दै वरिष्ठ पत्रकार मानन्धरले भन्नुभयो ‘ संघीयताको लागि हामी लड्यौ । तर भइदियो के त भन्दा बोक्रो मात्र संघीयता आयो, त्यसको गुदी भने अझै एकात्मक सोच र व्यवस्था नै रहेछ ।’

संघीयताकोे मर्म र भावना अनुरुप संघीय व्यवस्था ल्याउन मातृभाषा पत्रकारिताको मिसन हुनुपर्ने पनि उहाँको जोड थियो । नेपाल भाषाको पत्रकारिता अझै पनि भाषा, जाति र अधिकारको आन्दोलनको एउटा पाटो रहेको उल्लेख गर्दै मानन्धरले नेपाल भाषा पत्रकारिता फुल्ने र फल्ने वातावरण हामी खोजेको, लडेको संघीयता आएपछि मात्र हुने धारणा राख्नुभयो ।त्यसपछि मात्र व्यावसायिकताको धारमा मातृभाषाको पत्रकारिता अघि बढ्ने पनि मानन्धरको भनाई रहेको छ ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले मातृभाषाको पत्रकारिताको विकासको लागि राज्यको ठोस र महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै यसका लागि पहिलो मातृभाषा पत्रकारिता सम्मेलनले जारी गरेको घोषणापत्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।अहिलेसम्म समुदायको लगानी, मेहनतको भरमा चल्दै आएको मिडियालाई विशेष सहुलियत दिनपर्ने अध्यक्ष बज्राचार्यले माग गर्नुभयो ।

सो अवसरमा कार्यक्रमका संयोजक एवं पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले अझै पनि विशेषतः भाषिक संवेदनशीलताको आधारमा चलाउँदै आएको नेपाल भाषाको पत्रकारिताको गुणस्तरको लागि नयाँ पुस्ताका पत्रकारहरु उत्पादन गर्नुपर्ने,
बजारको विस्तार र विविध सामग्री पस्किनुपर्ने बताउनुभयो ।

त्यसैगरी नेपाल भाषाको सञ्चार क्षेत्रमा बजार व्यवस्थापक रुपमा तीन दशकदेखि कार्यरत लहना साप्ताहिकका प्रबन्ध सम्पादक सुरेशभक्त श्रेष्ठले सर्मपित भएर काम गर्दै जाने हो भने मातृभाषाको पत्रकारिता गरेर गुणस्तरीय जीवनयापन गर्न सकिने अवस्था बन्दै गएको बताउनुभयो । मिसनसंगै बजारको माग, पाठकको चाहना, व्यावसायिकताको मूल्य र मान्यतालाई आत्मसात गरेर अघि बढ्ने हो भने मातृभाषाको पत्रकारितालाई विकास गर्ने थुप्रै ठाउँहरु रहेको पनि श्रेष्ठको भनाई रहेको छ ।

त्यस्तै नेवाः टिभी एचडीका अध्यक्ष नवीन जोशी, एफ एम रेडियोमा नेपालभाषाका प्रथम समाचारवाचक बिराजकाजी राजोपाध्यायले समयको अन्तरालसंगै मातृभाषा पत्रकारिता व्यावसायिक स्वरुप लिँदै गएको बताउँदै गुणात्मक फड्को मार्न राज्यको सहयोगको खाँचो औल्याउनुभयो । सो अवसरमा महिला सञ्चारकर्मी द्वय रचना श्रेष्ठ र मिना बज्राचार्यले मातृभाषाको पत्रकारितामा महिला पत्रकारहरुको अवस्था अझै चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो ।

नेपालभाषाको पहिलो समाचार पोर्टल नेपालमण्डल डट कमका सदस्य अस्मित मल्लले नेपालभाषा माध्यमबाट संचालित अनलाइन माध्यमहरुले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सरकारबाट उपलब्ध सुविधा प्राप्त गर्नका लागि आवश्यक मापदण्ड पूरा गर्नुपर्नेमा ध्यान दिनको लागि मल्लले जोड दिनुभयो ।कार्यक्रममा पत्रकार राष्ट्रिय दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन,वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ पत्रकार साथै दबूका सल्लाहकार रमेशकाजी स्थापित, विभिन्न संचारमाध्यमका प्रतिनिधि पत्रकार दबूका केन्द्रीय साथै जिल्ला पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्