त्रिपालमा बसेका प्रहरीले पाए नयाँ भवन



न्युज अफ नेपाल, हेटौंडा ।

उत्तरी मकवानपुरको थाहानगर–४ मा रहेको सीमभञ्ज्याङस्थित जिल्लाकै उच्चभागमा पानी चुहिने छाप्रो र त्रिपालको भरमा बसेका प्रहरीले नयाँ भवन पाएका छन् । उक्त प्रहरीचौकी भवन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकार र थाहानगरको संयुक्त लगानीमा निर्माणसम्पन्न चारकोठे भवन नगर प्रमुख लवशेर बिष्टले मकवानपुर प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठौरलाई हस्तान्तरण गर्नुभएको हो । सीमभञ्ज्याङ प्रहरीचौकी २०६४ सालमा स्थापना भएको थियो ।

नगर प्रमुख बिष्टले नागरिकको सेवाका लागि खटिने नेपाल प्रहरीलाई सबैले सहयोग गरे सबैको सुरक्षामा थप टेवा मिल्ने भन्दै सुरक्षामा खटिने व्यक्ति नै जहिल्यै असुरक्षित भइरहेको सन्दर्भमा भवन बनाएर सहयोग गरिएको बताउनुभयो । नगर उपप्रमुख खड्ग गोपालीले भवन मजबुत भएको उल्लेख गरे । प्रहरीका लागि भवनलाई आबश्यक पर्ने सहयोग र सहजीकरण हुने उहाँले विश्वास दिलाउनुभयो ।

थाहा नगर उद्योग वाणिज्य संघ महासचिव सुरेन्द्रमान प्रधानले सीमभञ्ज्याङजस्तै टिष्टुङ र बज्रबाराहीमा पनि प्रहरीचौकीको काम गरिरहेको बताउनुभयो । प्रधानले खराब काम गर्नेहरु प्रहरीबाट भाग्ने तर राम्रो मनसाय हुनेका लागि प्रहरी सधैं आबश्यक भएको औंल्याउनुभयो ।

प्रहरी उपरीक्षक राठौरले थाहानगरले गरेको सहयोगको प्रशंसा गर्दै थाहा नगरपालिकाले जस्तै अन्य पालिकाले पनि सहयोग गरे शान्तिसुरक्षामा ठूलो बल मिल्ने बताउनुभयो । प्रउ राठौरले आफूले दैनिक भोगिरहेका समस्यालाई भन्दा पर्यटकीय क्षेत्रमा अवस्थित चौकीमा रहेर नागरिकको सेवामा अहोरात्र खटिएका प्रहरी कर्मचारी प्रशंसाको पात्र भएको उल्लेख गर्दै रमणीय पर्यटकीय क्षेत्रमा सेवा गर्ने अवसर सबै प्रहरी कर्मचारीले नपाउने तथ्यलाई मनन् गरी आफूलाई तोकिएको जिम्मेवारी त्रुटिसहित तवरले सम्पादन गर्न निर्देशन दिनुभयो ।

पर्यटकीय क्षेत्र सीमभञ्ज्याङमा हिउ“ र जाडो बढेसँगै तुसारो पर्छ । २०७२ बैशाख १२ को भुकम्पले प्रहरीचौकी रहेको भवन भत्किएपछि शान्तिसुरक्षाका लागि खटिएका प्रहरी टेन्टमै बस्न बाध्य थिए । एउटै टेन्टभित्र ६ जनासम्म सुत्नुपर्ने तथा आफ्नो सामान राख्दा साँघुरो भएर धेरै कष्ट भएकोे प्रहरीको गुनासो थियो ।

थुनुवा राख्ने ठाउँ नहुँदा कुनै घटनामा संलग्न अभियुक्तलाई पालुङ इलाका प्रहरी कार्यालय लैजानुपर्ने वाध्यात्मक परिस्थिति थियो । प्रदेश सरकारबाट प्रदेशअन्तर्गत् ४७ वटा प्रहरी एकाईं निर्माणका लागि बजेट निकासा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्