छोरीको दरबन्दीमा बाबु जागिरे



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको सुदूरपश्चिमको स्थानीय तह ठोरी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एक कार्यालय सहयोगी पदमा छोरीको दरबन्दीमा बुवाले काम गरिरहेको पाइएको छ ।

ठोरी गाउँपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ चौकीमा २०७५ माघबाट कार्यालय सहयोगीका रुपमा कार्यरत शर्मिला रुम्बाको ठाउँमा उनका बुवा कृष्ण बहादुर रुम्बाले कार्यालय सहयोगीको रुपमा काम गरिरहेका पाइएको हो ।

शर्मिला गाउँपालिकाको तर्फबाट करार सेवामा काम गरिरहेकी थिइन् । उनको गत महिना बिवाह भयो । विवाह गरेर चितवन गएपछि उनको ठाउँमा उनका बुवाले नै कार्यालय सहयोगीको रुपमा स्वास्थ चौकीमा काम गरिरहेको स्थानीयले कृष्णमोहन साहले बताउनुभयो ।

विवाह भएर गएपछि शर्मिला तलब बुझ्न र करारको म्याद थप गर्नको लागि मात्र कार्यालय आउने गरेकी हुन्। सर्मिला आइतबार मात्र करारको म्याद थप गराइ पुन आफ्नो श्रीमानको घर चितवन नै गएको बुझिएको छ । तर, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले आफुलाइ शर्मिला कार्यालयमा उपस्थित नभएको बारे कुनै जानकारी नआएको र छोरीको नाममा बुवाले काम गर्न नपाउने भन्दै यस बिषयमा तत्काल छानबिन गरिने र त्यसो भेटिए कानुन अनुसार कार्वाही गरिने बताउनुभयो ।

स्वास्थ संयोजक रमेश राज थिङ्ले शर्मिला बिहे गरेर गएको आफुलाइ जानकारी भएको तर कार्यालयमा उनको बुवाले काम गरिरहेको बारे आफुलाइ जानकारी नभएको भन्दै सत्यतथ्य बुझ्न अनुगमन समेत गर्ने बताउनुभयो । गाउँपालिकामा काम गर्ने कर्मचारीहरु आउने नआउने जानकारी नै नहुने प्रमुख प्रशासकीय अधिकृत र शाखा संयोजकको गैरजिम्मेवारी जवाफले भने स्थानीय अचम्मित भएका छन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुको खटन प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखा संयोजकहरुको पनि हुने भएपनि प्रमुख प्रशासकीय अधिकृत र शाखा संयोजकको जिम्मवारी हुने गर्दछ । आफूहरुले तलब निकासा गरेपनि सबै कुरा बुझ्ने तयारीमा नै रहेको पनि प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्