भारत र चीन विवादित सीमाबाट सेना फिर्ता



काठमाडौं । भारत र चीनले दुई देशबीच विवादित हिमालय क्षेत्रको सीमाबाट सेना फिर्ता गर्ने कार्य पूरा गरेको भारत सरकारले जनाएको छ । भारतीय रक्षा मन्त्रालयले प्रकाशित गरेको एउटा संयुक्त विज्ञप्तिमा पान्गोङ त्सो ताल क्षेत्रबाट सैनिकहरू फिर्ता हुने कार्य शनिवार सम्पन्न भएको उल्लेख गरिएको छ ।

गत जुन महिनामा उक्त क्षेत्रमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २४ सैनिकको मृत्यु भएको थियो । दुवै पक्षले लाइन अफ एक्चूअल कन्ट्रोल भनेर चिनिने सीमाको अन्य क्षेत्रमा पनि तनाव कम गर्न काम गर्ने बताएका छन् ।

फेब्रुअरी ११ तारिखमा चीन र भारतले उक्त ताल क्षेत्रबाट सेना फिर्ता गर्ने घोषणा गरेका थिए । शनिवार दुवै पक्षका कमान्डरहरूले उक्त कार्य कसरी भइरहेको छ भन्‍ने हेर्न भेटवार्ता गरेका थिए । आइतवार जारी वक्तव्यमा अग्रपङ्क्तिमा रहेका सैनिकहरूलाई फिर्ता गर्नु एउटा महत्त्वपूर्ण कदम भएकोु जनाइएको छ ।त्यस्तै योलाइन अफ एक्चूअल कन्ट्रोलको पश्चिमी क्षेत्रमा बाँकी रहेका समस्याहरू समाधानका लागि पनि राम्रो आधार बन्न सक्नेु वक्तव्यमा उल्लेख छ । यो चरणमा प्रवेश गर्नका लागि कमान्डरहरूले नौ चरणका वार्ताहरू गरेका थिए ।

वक्तव्यले सीमाको अर्को क्षेत्रमा तनाव रहेको स्वीकारेको छ र वार्ता जारी राख्ने आशा व्यक्त गरेको छ । उक्त क्षेत्रमा गत जुनमा भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो । चीनले गत साता उक्त घटनामा आफ्ना चार सैनिकको पनि मृत्यु भएको स्वीकारेको थियो ।

सेना फिर्ता गर्ने निर्णय गर्नुअघि सीमावारि र सीमापारि दुई देशका सैनिकहरू तैनाथ थिए । त्यहाँ महिनौँदेखि तनाव कायम थियो र उक्त क्षेत्रमा दुवै देशले ठूलो सङ्ख्यामा सैनिक परिचालन गर्दा चिन्ता व्यक्त गरिएको थियो । चीन र भारतबीच दशकौँदेखि सीमा विवाद रहँदै आएको छ र त्यसैका कारण सन् १९६२ मा दुई देशबीच युद्ध पनि भएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्