बीमा कम्पनीलाई कडाइ गर्दै समिति



काठमाडौं, (नेस) । 

बीमा समितिले बीमा कम्पनीहरूले लगानी निर्देशिका अनुसार लगानी नगरेपछि बीमा कम्पनीहरुलाई पत्र काटेको छ।लगानी निर्देशिकामा राज्यको प्राथमिकता प्राप्त क्षेत्र (कृषि, पर्यटन र ऊर्जा) मा आफ्नो कुल लगानीको २० प्रतिशत लगानी गर्नुपर्ने भए पनि बीमा कम्पनीहरूले सो अनुरुप लागनी नगरेपछि समितिले त्यस्ता बीमा कम्पनीलाई पत्र काटेको हो।

‘बीमकको लगानी निर्देशिका २०७५’ अनुसार बिमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्कबाट विविध क्षेत्रमा लगानी गर्नुपर्ने नियम छ । अधिकांश बीमा कम्पनीले राज्यको प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगरेको बीमा समितिको भनाइ छ। कम्पनीहरु नाफामा मात्रै केन्द्रित हुँदा केही जीवन बीमा कम्पनीहरूले वाणिज्य बैंकको फिक्स डिपोजिट र ऋणपत्रमा मात्रै लगानी गर्दै आएका छन्। मुलुकको पँर्वाधार क्षेत्रमा गर्नुपर्ने लगानी समेत नगरी बसेका हुनाले सो क्षेत्रमा लगानी गर्न बीमा समितिले ताकेता गरेको हो।

निर्देशिकामा उल्लेख भएबमोजिम लगानी गर्नुपर्ने क्षेत्रमा लगानी नगरेपछि हामीले बिमक कम्पनीलाई पत्र काटेर निर्देशिकाअनुसार पुर्वाधारमा लगानी गर्न दबाब दिएको हो। १९ वटा लाइफ इन्स्योरेन्स कम्पनी मध्ये हाल नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले मात्रै लगानी गरेका छन्। नेपाल लाइफ इन्स्योरेन्सले पुर्वाधार क्षेत्रमा एक अर्ब ८६ करोड १६ लाख रपैयाँ लगानी गरेको छ भने प्राइम लाइफले १५ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ।बीमा समितिले बीमा कम्पनीहरूलाई आइतबार लगानी निर्देशिका अनुसार लगानी भए नभएको स्पष्ट पार्न र नभएको भए लगानी गर भनेर पत्र काटेको छ।

प्रतिक्रिया दिनुहोस्