राष्ट्रिय परिचयपत्रका लागि नागरिकता बनाउनेको भीड



डडेल्धुरा, (नेस)  ।

पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता बनाउनेको भीड बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकता अनिवार्य चाहिने भएकाले नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड बढेको हो ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नुका साथै कोरोनाका कारण लामो समयसम्म नागरिकता बनाउन नसकेकाले नागरिकता बनाउन थालेपछि भीड बढेको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । सामान्यतया दैनिक १० देखि २० जनासम्म मात्रै नागरिकता बनाउने गरेकोमा विगत दुई महिनायता भने दैनिक १ सयदेखि १ सय ५० जनासम्म नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आउने गरेको उहाँको कथन छ ।चालू आर्थिक वर्षको माघ महिनासम्म ४ हजार २ सय १८ जनाले नयाँ नागरिकता लिएका छन् ।

यस अवधिमा ४ हजार ७ सय ५० जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न शुरु गरिएपछि सबैभन्दा बढी नागरिकताको प्रतिलिपि लिने रहेका छन् ।कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न शुरु गरिएपछि पुस र माघ महिनामा मात्रै ३ हजार ५ सय ६७ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् भने १ हजार ८ सय ५३ जनाले नयाँ नागरिकता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्