उपाध्यक्षको विजयोत्सव, पालिका कार्यालयमा पञ्चैबाजा



रोशन पराजुली, हेटौंडा  ।

आइतबार बिहान करिब ११ बजे मकवानपुरको नगरोन्मुख मनहरी गाउ“पालिका कार्यालयको प्रांगणमा पञ्चैबाजा घन्कियो । लगभग २ सयको हाराहारीमा मानिस जम्मा भएका थिए ।नाचगानको माहोलले तातिएको पालिकाको कार्यालयमा कसैको बिहे अथवा व्रतबन्ध जस्ता शुभकार्य भइरहेको हो कि भनेर केही प्रत्यदर्शीहरु अलमलमा देखिन्थे । तर, त्यहाँका मानिस भने बाजाको तालमा ताल मिलाउँदै निर्धक्क नाचिरहेका थिए ।

पालिका कार्यालयमा यस्तो रोेचक दृश्य किन होला भन्ने मानिसले तब थाहा पाए, जब पालिका उपाध्यक्ष लामो अन्तरालपछि आफ्नो पदभार सम्हाल्न पालिका कार्यालय पुगिन् । हातमा फूलमाला र खादा बोकेर बसेका मानिसले उनलाई स्वागत गरे । जब उपाध्यक्ष मनिला विष्ट पालिका कार्यालय पुग्नुभयो, तब त्यहाँको माहोलले उहाँको आँसु थामिएन । आफ्नो पक्षमा उभिएका शुभचिन्तकप्रति उहाँले आफ्नो खुसीको आँसु लुकाउन नसकेको बताउनुभयो । लगभग डेढमहिनापछि पालिका कार्यालय पुग्नुभएकी विष्ट आफूलाई श्रद्धा गर्नेहरुको जमातमा उभिन पाउँदा दंग देखिनुहुन्थ्यो ।‘राजीनामा प्रकरण’ का कारण महिनौं भौंतारिएर पुनः पद बहाली गर्न पाउनुभएकी विष्टले आफूले चुनाबका बेला गरेको वाचा र प्रतिवद्धता र पार्टीको मार्गनिर्देशन आत्मसात् गरी जनप्रतिनिधिका रूपमा ९ वटै भूगोल तथा संविधानले दिएको अधिकार प्रयोग गरी काम–कारबाही गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘काम–कारबाहीलाई जनमुखी, परिणाममुखी बनाउन र जनताको अपेक्षा पूरा गर्न पारदर्शी काम–कारबाही, सुशासन प्रत्याभूति गराउ“दै काम गरिरहेको र अझै पनि गरिरहनेछु । बेथिति, विसंगति, अन्याय र अत्याचारविरुद्धमा सदैंव आफ्ना अडानलाई पीडित र न्यायको पक्षमा बुलन्द गर्दै अघि बढ्नेछु ।
पुस ५ गते संसद् विघटनअघि पालिकामा यसबारे प्रभाव परेको थिएन । राजीनामाको कुरा गुपचुप थियो । जब संसद् विघटन भयो, अनि पार्टीगत हिसाबले राजीनामा स्वीकृत गरियो । संसद् विघटनको प्रभावका कारण राजीनामाका नाममा यस्तो खेप्न बाध्य हुनुपरेको हो ।मंसिर २९ गते मिति उल्लेख गरिएको राजीनामापत्र झण्डै २० दिनपछि ‘स्वीकृत’ भएको थियो । पालिका अध्यक्ष एकराज उप्रेतीले आफूलाई जनता र वडाका जनप्रतिनिधिको दबाब आएका कारण राजीनामा स्वीकृत गर्नुपरेको बताउनुभएको थियो । पालिका अध्यक्षले स्वीकृत गरिसकेको राजीनामा अदालतबाट खारेज हु“दा उपाध्यक्ष विष्ट खुसी हुनुभएको हो ।
पत्रकार भेटमा विष्टले पालिका अध्यक्ष उपे्रतीलगायत केही कर्मचारीले पदबाट हटाउन अनेक षड्यन्त्र गरे पनि सफल नभएको बताउनुभयो ।

‘म गलत भए अदालतको फैसला मेरो विपक्षमा आउँथ्यो होला । तर, सबैको माया, साथ र सहयोगका कारण न्याय पाएकी छु ।’ –विष्टले भन्नुभयो ।उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु मोहम्मद साबिर हुसेन र चण्डीराज ढकालको संयुक्त इजलासले उत्प्रेषण आदेशमार्फत सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुनः कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेको हो । विष्टले आफूले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट दायर गर्नुभएको थियो । ५ गते उहाँको पक्षमा फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस्