सांगीतिक फिल्ममा आमाको खोजी



म्युजिकल फिल्म आमा कहाँ खोजु सार्वजनिक गरिएको छ। यो सांगितिक कथामा अनाथ आश्रममा हुर्किरहेकी १० वर्षकी छोरीले जन्मदिने आमाको खोजी गरेको कथा छ। जन्मदिने आमाले विविध कारण र विवशताले आप्नो नवजात शिशुलाई फाल्न बाध्य रहेको कथा छ।

अनाथ अश्राममा रहेकी छोरीले जब विस्तारै ठुली हुँदै जान्छे, आमाका बारेमा सोच्न थाल्छे। उनलाई आमा भेट्न मन लाग्छ। जस्तोसुकै भए पनि एकचोटी भेट्न पाए हुन्थ्यो भन्ने चाहना बढ्न थाल्छ। आश्रममा कर्म दिने आमा भए पनि उनलाई जन्मदिने आमाको अभाव खट्किराखेको हुुन्छ।एकदिन अचानक, आफु सानो छदा खोलाको किनारमा छोडेर भागेको सपना देख्छे र ब्युँझिन्छे। त्यतिखेर ऊ अझ बेसी आमाको आवश्यकता महसुस गर्छे र खोजी गर्छे। आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुमा लुकेका पीडा, बनावटी खुसी, आघातित बाल मनोविज्ञान र जीवनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ। यसको कथाले राज्यको नीतिले कानुन असहज हुनुको पछाडि केही हदसम्म राज्य पनि दोषी हो कि भन्ने प्रश्न गर्छ।

सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको म्युजिकल फिल्ममा नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापा मगरको अभिनय रहेको छ। फिल्ममा अशोक थापा मगरको संगीत र शब्द रहेको छ। फिल्मको गीतलाई गीताञ्जली थापा मगरले गाएकी छन्। संगीतमा राजु थापा मगर पनि आबद्ध छन्। दीपक बज्राचार्यले खिचेको फिल्मलाई अशोक थापा मगरले नै निर्देशन गरेका छन्। फिल्म टेकबहादुर थापा र राजु थापाले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्