संरक्षण गरे नेपालकै उत्कृष्ट टोली बन्न सक्छौं



विजय नेपाली, पोखरा  ।

गण्डकी प्रदेशलाई भलिबलको उर्वर भूमि मानिन्छ । तत्कालीन पश्चिमाञ्चल हुँदा गण्डकीले भलिबलमा निकै खेलाडी उत्पादन गर्ने गरेको थियो । अहिले पनि नेपालका उत्कृष्ट क्लबहरूमा गण्डकीका खेलाडी नभएको भने होइन् । गण्डकीले खेलाडीको संरक्षण गर्न नसक्दा विभागीय क्लबमा जान खेलाडी बाध्य भएका छन् । लामो समयदेखि उपाधिविहीन गण्डकीले यो वर्ष भने भलिबलमा ऐतिहासिक सफलता हात पारेको छ ।

राष्ट्रिय खेलाडीको वर्चस्व रहेको त्रिभुवन आर्मीजस्तो टिमलाई दुई–दुई पटक हराएर राष्ट्रियस्तरको उपाधि जित्नु सामान्य कुरा होइन्, त्यो पनि एक हप्ताको प्रशिक्षणमा । गण्डकीले अहिले पुरुषतर्फ उत्कृष्ट खेलाडी पाएको छ, तर दुर्भाग्य महिलातर्फ भने खेलाडी नै छैनन् । भएका खेलाडी विभागीय वा अन्य क्लबमा आबद्धता भएर व्यवसायिक खेल खेलिरहेका छन् ।अरुणा शाही, कमला पुन, उषा भण्डारी, हीरा केसी, जस्ता नाम चलेका खेलाडीहरू सबै अन्तै पुगिसकेका छन् । उता पुरुष तर्फ पनि लक्ष्मण राना, विजय थापा, महेन्द्र श्रेष्ठ, मानबहादुरजस्ता खेलाडी विभागीय क्लबबाट खेलिरहेका छन् । हालै मात्र पोखरामा दुई भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । जस्ले गण्डकी प्रदेशमा उदीयमान खेलाडीहरू छ्याप्छ्याप्ती रहेको देखाइरहेका छन् ।नेपालकै राष्ट्रिय खेल भलिबलसँगै कोरोनापश्चात गण्डकीको खेल गतिविधि सुचारु भएको छ । राष्ट्रियस्तरको टाइगर कपमा उत्कृष्ट खेल कौशल देखाएका खेलाडीहरू पुनः सोही मैदानमा आफ्नो गृह जिल्लाहरूको प्रतिनिधित्व गर्दै प्रदेश छनोट मानिएको मुख्यमन्त्री कपमा सहभागी भए । मुख्यमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा विशेष भूमिका खेलेको त छ । तर, पनि खेलाडीको संरक्षण हुने वा नहुने भन्ने दुविधा भने यथावत् रहेको छ ।

गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्नेछ । यसअघि फागुनमा हुने भनिए पनि कोरोनाकै कारण मिति सारिएको हो । नवौंका लागि पनि प्रदेशले खेलाडी तयार गर्नुपर्नेछ । तर, गण्डकीका खेलाडीमा भने छुट्टै हौसला छ । हौसला मात्र होइन उनीहरूमा प्रदेशले पनि आफँहरूका लागि केही गरिदियोस् भन्ने चाहना छ । प्रदेशले बन्द प्रशिक्षणको व्यवस्था गरिदिए अन्य प्रतियोगितामा अझ उत्कृष्ट खेल देखाउने खेलाडीहरूको भनाइ रहेको छ । गण्डकीमा भने प्रतियोगिता हुने समयमा मञ्चमा रकम दिने र खेलाडी उत्पादन गर्ने बताइरहे पनि खेलाडी संरक्षणको कुरा भने आउँदैनन् ।गण्डकी प्रदेश पुरुष भलिबल टोलीका प्रशिक्षक रमेश केसीले नयाँ खेलाडीले गण्डकी प्रदेश भइसकेपछि पहिलोपटक इतिहास रच्न सफल भएको बताए । राष्ट्रिय खेलाडी रहेको टिमलाई समेत हराउँदै दर्शकको समर्थनले नयाँ उर्जा मिलेको उनको भनाइ छ । केसीले प्रदेशले लगानी गर्न सके नेपालकै उत्कृष्ट टोली बनाउन सक्ने बताए ।

‘राष्ट्रिय खेलाडी भएको टिमलाई दुई–दुई पटक हराएर उपाधि जित्यौं । गण्डकी प्रदेश भलिबल खेलमा नेपालकै उत्कृष्ट टिम बन्न सक्छ ।’ छोटो समयको मिहेनतले ऐतिहासिक सफलता मिल्दा निकै हौसल मिलेको उनको भनाइ छ । प्रदेशस्तरीय खेलबाट समेत थप खेलाडी उत्पादन गर्ने उनले बताए । प्रदेश सरकारले अहिलेदेखि नै टोलीलाई नियमित प्रशिक्षणको व्यवस्था मिलाए भलिबलको प्रदेश बनाउन सकिने उनले बताए ।प्रदेश सरकारले खेलकुदलाई अलिकति बजेट छुट्याएर प्रशिक्षणको व्यवस्था गर्न सक्नुपर्छ । यदि, खेलाडीको संरक्षण गर्ने हो भने खेलाडीका लागि रोजगारको समेत व्यवस्था गर्न सक्नुपर्छ’ खेलाडीको अवस्था हेरेर राज्यले उचित न्याय गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘प्रदेशको अवस्था दयनीय छ, खेलाडी परिवारमै अल्झेर बस्नुपरेको अवस्था छ । यो भन्दा पनि उत्कृष्ट टिम तयार गर्न सक्छौं ’ उनले भने ।

यस्तै, गण्डकी प्रदेशका कप्तान हरी पाण्डेले प्रदेश सरकारले खेलाडीको लागि केहि पनि गर्न नसकेको बताए । ‘प्रदेश सरकारले गर्नपर्ने हो तर सकिरहेको छैन ।’ स्थानीय खेलकै भरमा रािष्ट्रयस्तरको खेल खेल्न बाध्य भएको उनले गुनासो गर्दै ‘बन्द प्रशिक्षण भयो भने अझ बलियो टिम बनेर उत्रिनेछ’ उनले भने । प्रदेशको टिममा केही खेलाडी थपघट समेत हुनसक्ने उनले बताए ।गण्डकी प्रदेशका लिब्रो राजन दर्लामी मगरले एक हप्ताको प्रशिक्षणले नै राष्ट्रिय स्तरको खेलमा कसरी खेल्ने भन्ने कुरा सिकाएको बताए । ‘एक हप्ताको तालिमले कसरी खेल्ने भन्ने सिकायो’ उनले भने । राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीले कुनै समय पोखराले मात्रै भलिबल खेलाडी उत्पादन गरे पनि अहिले भने सबै विद्यालय हराएको बताइन् । गण्डकी प्रदेशले खेलाडीको संरक्षण गर्न नसके खेलाडी पलायन हुने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्