सरकारले २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले कोरोनाविरुद्धको २० लाख डोज खोप खरिद गरेसँगै आइतबार १० लाख डोज नेपाल आइपुगेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्लीको उडानबाट एयर इन्डियाको विमानमार्फत सो खोप दिउँसो १ बजेर ३० मिनेटमा ल्याइपु¥याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खरिद गरिएको खोप यसअघि भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप उपलब्ध गराएको सेरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड नै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण विश्वका अधिकांश मुलुकहरूमा त्रासदीपर्ण वातावरण सिर्जना भएको १४ महिना भयो भने ३ महिना अघिदेखि खोप उत्पादनका साथै खोप लगाउने कार्य शुरू भइसकेको छ ।नेपाल सरकारलाई भारत सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड नामक खोप १० लाख डोज गत महिना माघ ८ गते नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म एयर इन्डियाको जहाजबाट ल्याई स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको थियो ।नेपाललाई पहिलो चरणमा भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको खोप स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा खटिएका कर्मचारी, फ्रन्टलाइनर सहित ४ लाख ३० हजारलाई दिने निर्णय भएको थियो ।पहिलो चरणको पहिलो प्राथमिकतामा तोकिएका निकायका व्यक्तिहरूले त्यति खोप नलगाएका कारण पहिलो चरणको खोपलाई सानो संख्यामा रहेको तर फ्रन्ट लाइनमा खटिएका निकाय युएन एजेन्सी, कुटनीतिक नियोग, पत्रकारहरू हुँदै सरकारी कर्मचारी, संस्थान, स्थानीय प्रतिनिधिसमेतलाई जिल्ला स्तरमा समेत खोप लगाउन सरकारले आह्वान गरेको थियो ।

जानेबुझेका सरकारी कार्यालयका प्रमुखहरू, पालिकाका जनप्रतिनिधिलगायतले पछिल्लो समय तोकिएको मिति फागुन ९ गतेसम्म पनि खुलेर खोप लगाउन नआएको स्वास्थ्य मन्त्रालयका चिकित्सकहरूको ठम्याइ छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार सञ्चारकर्मीले खोपको मर्म बुझेर होला अन्य निकायको दाँजोमा खुलेर लगाउने र लेख्ने गरेका छन् । जुन अपेक्षा गरिएको सरकारी कर्मचारी र जनप्रतिनिधिहरूको उपस्थिति अन्यत्नै पातलो रहयो ।अन्य मुलुकले खोप नपाएर हाहाकार भइरहेको बेलामा नेपाल सरकारले नेपाली जनतालाई निःशुल्क खोप लगाउने अभियानअन्तर्गत आइतबार नेपाल भित्र्याएको खोप प्रति डोज अमेरिकी ४ डलर परेको स्वास्थ्य तथा जनसंख्यामन्त्री त्रिपाठीले बताउनुभयो ।

नेपालले खरिद गरेको खोप एक भायलमा १० डोज हुन्छ । विगतमा प्राप्त खोप पनि १० प्रतिशत खेर जाने भाग छुट्याइएको भए पनि अहिलेसम्म मितव्यीता अपनाई खेर जान नदिई स्वास्थ्यकर्मीले विशेष सुरक्षा अपनाई लगाइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झा बताउनुहुन्छ ।नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको र उक्त खोपका लागि अग्रिम भुक्तानी गर्ने सहमति भएअनुसार नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार अग्रिम भुक्तानीका लागि निर्णय गरी खोप खरिदका लागि भुक्तानी गरिसकेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

सरकारले खरिद गरेको खोप दोस्रो चरणमा तोकिएका ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि लगाउने अभियान शुरू हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।खोप प्रदेशमा वितरण गर्नुपहिले टेकुमा भण्डारण गरिने र खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेशमा आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्