गर्भवती महिलाको हत्यारालाई २० वर्ष कैद



जोहान्नेसबर्ग, (एजेन्सी) ।

दक्षिण अफ्रिकामा एकजना पुरूषलाई गर्भवती महिलाको हत्या गरेको अभियोगमा २० वर्ष लामो कारावासको सजाय सुनाइएको छ । यस हत्याकाण्डलाई लिएर दक्षिण अफ्रिकामा व्यापक विरोध प्रदर्शन हुनाका साथै राष्ट्रपतिले समेत त्यस विषयमा भाषण दिनुपरेको थियो ।

गत वर्षको जुनमा शरीरका विभिन्न भागमा छुरा प्रहारको थुप्रै चोट रहेको अवस्थामा २८ वर्षीया ‘सेगोफात्सो प्युल’ नामक महिलाको लास एउटा रूखमा झुन्डिरहेको अवस्थामा फेला परेको थियो । राजधानी जोहान्नेसबर्गस्थित अदालतले ३१ वर्षीय जिकायिसे मेलफानेलाई दोषी ठहर गरेको हो ।तर, उनले ती महिलाको पूर्व प्रेमीले आफुलाई पैसा दिएर हत्या गर्न लगाएको बयान दिएका छन् । प्रहरीले यस हत्याकाण्डको सिलसिलामा एकजना पुरुष अझै हिरासतमा रहेको जनाएको छ ।मेलफानेले ती पूर्वप्रेमीले हत्याका लागि ७ हजार ¥यान्ड दिने प्रस्ताव राख्दा आफुले अस्वीकार गरेको र अन्ततः ७० हजार ¥यान्डमा सम्झौता तय भएको पनि बताएका छन् ।

४ जुनमा अचानक बेपत्ता हुँदा सेगोफात्सो आठ महिनाकी गर्भवती थिइन् ।दक्षिण अफ्रिकामा कम्तिमा ५१ प्र्रतिशत महिला पुरुषहरूबाट हुने हिंसाको शिकार हुँदै आएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्