रसियामा भेटियो मानवमा सर्ने ‘बर्डफ्लु’



मस्को, (एजेन्सी) ।

रसियाले पहिलो पटक ‘ए–एच–५–एन–८’ नामक वर्डफ्लु भाइरस मानवमा सरेको पत्ता लगाएको छ । उपभोक्ता स्वास्थ्य निगरानी रोस्पोट्रेब नाजद्जोरकी अध्यक्ष अन्ना पोपोभाले यसबारे विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) लाई जानकारी गराइसकेको शनिबार बताएकी छन् ।

‘एच–५–एन–८’ भाइरस पछिल्ला केही महिनामा रसिया, युरोप, चीन, मध्यपुर्व र उत्तर अफ्रिकामा देखापरेको थियो । तर, सो भाइरस अहिलेसम्म कुखुरामा मात्र देखिएको हो । पोपोभाले यो भाइरस कुखुराबाट मानिसमा पनि सरेको तथ्य डब्ल्युएचओलाई दिइसकेको र अहिलेसम्म मानिसबाट मानिसमा सरेको घटना नदेखिएको रोस्सिया २४ स्टेट टेलिभिजनलाई बताएका छन् ।

पोपोभाका अनुसार गत डिसेम्बरमा ‘एच–५–एन–८’ महामारी फैलिँदा रसियाको दक्षिण भागमा रहेको एउटा कुखुरापालन केन्द«मा सात जना कामदार संक्रमित भएका थिए । तर, त्यसले डरलाग्दो रूप भने लिन पाएको थिएन ।डब्ल्युएचओले रसियाले यस सम्बन्धमा महत्वपुर्ण जानकारी दिएको कुरा पुष्टि गरेको छ । साथै, डब्ल्युएचओले यसबारे थप र विस्तृतरूपमा छलफल गरेको तथा छानबिन भइरहेको पनि जानकारी दिएको छ । जीवित वा मृत संक्रमित कुखुराको सम्पर्कमा आएपछि मानिसमा बर्डफ्लु सर्ने गर्दछ । तर, राम्ररी पकाइएको कुखुराको मासु भने सुरक्षित हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्