खानतलासीका नाममा प्रहरी आतंक

अवरोध गरिएको भन्दै वडा अध्यक्ष नियन्त्रणमा



रोशन पराजुली, हेटौंडा। 

मकवानपुरको विकट क्षेत्रमा अवैध गाँजा बरामदका लागि दलबलसहित पुगेको प्रहरी टोलीले नै गाउँमा आतंक मच्चाएको आरोप लागेको छ ।गाँजाको उर्वर भुमि मानिएको क्षेत्रमा प्रहरीले दिनहुँजसो गाँजा बरामद र आरापित स्थानीयलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले असभ्य गतिविधि गरेको भन्दै स्थानीयसँग विवाद भएको थियो । प्रहरीले बाटो अवरोध गरी प्रहरीको काम÷कारबाहीमा बाधा पु¥याएको भन्दै राक्सिराङ गापा वडा–१ का ४३ वर्षीय वडा अध्यक्ष कान्छालाल रुम्बालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

गाँजा खानतलासी गर्ने नाममा प्रहरीले स्थानीयका सामान र नगद लुटेको सुचनापछि वडा अध्यक्ष रुम्बासमेत घटनास्थल पुग्नुभएको थियो । ‘गाँजा अपरेसन’ का लागि भन्दै गएको प्रहरी टोलीले गाउँमा लुटपाट मच्चाउन थालेपछि स्थानीयका निर्वाचित जनप्रतिनिधिका रूपमा घटनास्थल पुग्नुभएका वडा अध्यक्ष रुम्बालाई नै प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।तर, प्रहरीमाथि जाइलाग्ने मुख्य व्यक्ति नै रुम्बा भएको र उहाँमाथि थप अनुसन्धानका लागि अदालतबाट आइतबार सात दिन म्याद थप गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले बताउनुभयो । रुम्बाउपर प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाइएको हो । रुम्बालाई हेटौंडास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

शनिबार साँझ राक्सिराङ गापा वडा–१ स्थित गाल्छाराङमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवराज गुरुङको कमान्डमा इलाका प्रहरी कार्यालय नेवारपानीसहितबाट खटिएको ११ जनाको प्रहरी टोलीले गाल्छाराङमा बारीमा लुकाइराखेको करिब १८ क्विन्टल गाँजा जलाएर फर्कने क्रममा स्थानीयसँग विवाद भएको थियो ।राक्सिराङ गापा वडा–१, कुपिनटारस्थित सडकमा स्थानीयले प्रहरीको काम-कारबाहीमा बाधा पु¥याउने काम गरेको प्रहरी प्रवक्ता डीएसपी रानाले दाबी गर्नुभयो । ‘प्रहरीका गाडीहरू र प्रहरीमाथि हातपात भएको र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीबाट २ राउन्ड हवाइफायर गरिएको थियो’ –उहाँले भन्नुभयो । सोही क्रममा नजिकको इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठ र सशस्त्र प्रहरीको आईआरटी पोस्ट कत्लेखोलाबाट सप्रनानिको कमान्डमा रेस्क्युका लागि थप टोली खटाइएको थियो ।

प्रहरी र गैरप्रहरीसमेत लिएर शंकास्पदरूपमा राति गाँजा खानतलासी गर्ने भन्दै बियर, ड्युका कार्टुन र अन्य सामानसमेत उठाएर हिँडेपछि प्रतिकार गरिएको स्थानीयको दाबी छ । स्थानीयका अनुसार राति प्रहरीको बा१ग २०९० नम्बर भ्यानमा केही प्रहरी र तीन जना गैरप्रहरी गाउँ छिरेका थिए । प्रहरीले प्रयोग गरेका गैरप्रहरीले स्थानीयको घरबाट नगद, लोकल कुखुरा, पसलबाट बियर, कोल्ड ड्रिंक्स, चाउचाउ र बिस्कुटसमेत झिकेपछि प्रतिकार गर्नुपरेको स्थानीयले बताएका छन् ।
घटनापछि थप बलसहित इलाका प्रहरी कार्यालय मनहरीबाट पुगेको प्रहरी टोलीले मिलापत्र गर्न भनेर राक्सिराङ गाउँपालिका वडा–१ का अध्यक्ष रुम्बालाई बोलाएर नियन्त्रणमा लिएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आरोप लगाउनुभएको छ । गाउँमा प्रहरीले नै रातभरि आतंक मच्चाएर मिलापत्र गर्न भन्दै बोलाएर वडा अध्यक्षलाई नियन्त्रणमा लिएको घटना खेदजनक भएको पालिका अध्यक्ष मल्लले बताउनुभयो ।उहाँले गाँजा खानतलासी गर्ने नाममा स्थानीयमाथि दुव्र्यवहार र लुटपाट मच्चाइएको दाबी गर्नुभयो । ‘स्थानीय रातभर सुतेका छैनन् । सुरक्षामा खटिनुपर्ने प्रहरीले नै आतंक मच्चायो । प्रहरीले नै गुण्डा लिएर गाउँ लुट्न आयो’ –आक्रोशित अध्यक्ष मल्लले भन्नुभयो ।प्रहरी भनिएको टोलीले पसलबाट बियरका कार्टुन, ड्युका कार्टुन, अन्य सामान र नगदसमेत लिएर हिँडेपछि प्रतिकारमा उत्रिएको स्थानीय ज्ञानबहादुर ब्लोनले बताउनुभयोे ।घटनापछि अध्यक्ष मल्ल प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई भेट्न हेटौंडा आउनुभएको छ ।

यसअघि उक्त क्षेत्रमा आफु स्वयम् गाँजा फँडानीमा जाँदा घुस खाएको गलत आरोप आएकाले यसपटक पनि प्रहरीमा गैरप्रहरीको प्रयोग भएको भन्ने आक्षेप लगाइएको भन्दै डीएसपी रानाले स्थानीयको आरोपको खण्डन गर्नुभयो ।गत वर्ष गाँजा बरामद गर्न छिमेकी कैलाश गाउँपालिका वडा–८ पुगेको प्रहरी र गाउँलेबीच झडप हुँदा प्रहरी सहायक निरीक्षकको हात भाँच्चिएको थियो भने प्रहरी रातभर बन्धक बनेका थिए । विवादपछि फर्कने क्रममा कुपिनटारस्थित बारीमा १५ केजी गाँजा र १४ केजी गाँजाको भाङ बेवारिस अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ । उक्त गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्