आफ्नै भान्जाको अपहरण गर्ने पक्राउ



काठमाडौं, (नेस)  । 
धनुषामा आफ्नै भान्जाको अपहरण गरेर दिदीसँग १ करोड फिरौती माग गर्ने मामालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ ।नगराइन नगरपालिका–६ जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दनको शनिबार अपहरण गरेको आरोपमा रामरतन भनिने लक्ष्मेश्वर दासलाई धनुषा प्रहरीले आइतबार सार्वजनिक गरेको हो । महोत्तरीको पिपरा गाउँपालिका–७ घर भई जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचोरी बस्ने २० वर्षीय लक्ष्मेश्वर चन्दनका आफ्नै मामा हुन् ।

शनिबार दिउँसो १ बजे घरअगाडि खेलिरहेका चन्दनलाई लक्ष्मेश्वरले चाउचाउ, बिस्कुट दिएर जनकपुरधामस्थित कोठामा ल्याएका थिए । कोठामा ल्याएपछि लक्ष्मेश्वरले नयाँ नम्बरबाट आफ्नी दिदी (चन्दनकी आमा) लाई फोन गरेर १ करोड रुपियाँ फिरौती मागेका थिए ।घटनाबारे जानकारी पाउनासाथ खोजी शुरु गरेको प्रहरीले खोजतलास गर्ने क्रममा लक्ष्मेश्वरको कोठाबाट चन्दनको उद्धार गरेको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिनुभयो । ‘आफ्नै भान्जाको अपहरण गरी १ करोड माग गरेका लक्ष्मेश्वर मोलमोलाई गरेर केही रकम लिने योजनामा थिए’, प्रहरी प्रमुख रानाभाटले भन्नुभयो– ‘तर उनको योजना सफल भएन ।’

पक्राउ परेका लक्ष्मेश्वरविरुद्व अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनु्सन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्