नव नियुक्त प्रमुख झाद्वारा पदभार ग्रहण



धनुषा । नवनियुक्त प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश झाले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख झाले कार्यालयमा पदभार ग्रहण गरेपश्चात् जनकपुरका सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै शिरमा देश र मनमा मधेशलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखेर कामकाज गर्ने बताउनुभयो ।

उहाँले देश भक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं २ को सेवा गर्ने मौका पाएकामा खुशी व्यक्त गर्दै विविधतालाई अवसरका रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति सद्भाव, प्रेम राख्दै प्रदेशलाई नमूना प्रदेश बनाउन आफ्नो सुझबुझ भ्याएसम्मको प्रयास गर्ने बताउनुभयो ।

प्रदेशप्रमुख झाले यस प्रदेश र प्रदेशवासीको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताउँदै प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा अग्रसर रहने बताउनुभयो । उहाँले देशसहित समृद्ध प्रदेश निर्माणका लागि आवश्यक पर्ने तत्वहरू सुशासन, साझापना, सबलीकरण र सहकार्यको विकल्प नरहेकाले कतिपय पक्षमा तत्काल सुधारको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्