उपाध्यक्षको विजयोत्सव : पालिका कार्यालयमा पञ्चैबाजा



न्युज अफ नेपाल,हेटौंडा ।

आइतबार विहान करिब ११ बजे मकवानपुरको नगरोन्मुख मनहरी गाउँपालिका कार्यालयको प्रांगणमा पञ्चैबाजा घन्कियो । लगभग २ सयको हाराहारीमा मानिस जम्मा भएका थिए । नाचगानको माहोलले तातिएको पालिकाको कार्यालयमा कसैको बिहे अथवा व्रतबन्ध जस्ता शुभकार्य भइरहेको हो कि भनेर केही प्रत्यदर्शीहरु अलमलमा देखिन्थे । तर, त्यहाँका मानिस भने बाजाको तालमा ताल मिलाउँदै निर्धक्क नाचिरहेका थिए ।

पालिका कार्यालयमा यस्तो रोेचक दृष्य किन होला भन्ने मानिसले तब थाहा पाए, जब पालिका उपाध्यक्ष लामो अन्तरालपछि आफ्नो पदभार सम्हाल्न पालिका कार्यालय पुगिन् । हातमा फूलमाला र खादा बोकेर बसेका मानिसले उनलाई स्वागत गरे । जब उपाध्यक्ष मनिला बिष्ट पालिका कार्यालय पुग्नुभयो, तब त्यहाँको माहोलले उहाँको आ“शु थामिएन । आफ्नो पक्षमा उभिएका शुभचिन्तकप्रति उहाँले आफ्नो खुसीको आँशु लुकाउन नसकेको बताउनुभयो । लगभग डेढ महिनापछि पालिका कार्यालय पुग्नुभएकी बिष्ट आफूलाई श्रद्धा गर्नेहरुको जमातमा उभिन पाउँदा दंग देखिनुहुन्थ्यो ।

‘राजीनामा प्रकरण’ का कारण महिनौं भौंतारिएर पुनः पद बहाली गर्न पाउनुभएकी बिष्टले आफूले चुनाबको बेला गरेको बाचा र प्रतिवद्धता र पार्टीको मार्गनिर्देशन आत्मसात् गरी जनप्रतिनिधिका रुपमा ९ वटै भूगोल तथा संविधानले दिएको अधिकार प्रयोग गरी काम/कारबाही गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–काम/कारबाहीलाई जनमुखी, परिणाममुखी बनाउन र जनताको अपेक्षा पूरा गर्न पारदर्शी काम/कारबाही, सुशासन प्रत्याभूति गराउँदै काम गरिरहेको र अझै पनि गरिरहनेछु । बेतिथि, विसंगति, अन्याय र अत्याचारविरुद्धमा सदैंव आफ्ना अडानलाई पीडित र न्यायको पक्षमा बुलन्द गर्दै अघि बढ्नेछु ।

पुस ५ गते संसद् बिघटनअघि पालिकामा यसबारे प्रभाव परेको थिएन । राजीनामाको कुरा गुपचुप थियो । जब संसद् बिघटन भयो, अनि पार्टीगत हिसाबले राजीनामा स्वीकृत गरियो । संसद् बिघटनको प्रभावका कारण राजीनामाका नाममा यस्तो खेप्न बाध्य हुनुपरेको हो । मंसिर २९ गते मिति उल्लेख गरिएको राजीनामापत्र झण्डै २० दिनपछि ‘स्वीकृत’ भएको थियो । पालिका अध्यक्ष एकराज उप्रेतीले आफूलाई जनता र वडाका जनप्रतिनिधिको दबाब आएका कारण राजीनामा स्वीकृत गर्नुपरेको बताउनुभएको थियो । पालिका अध्यक्षले स्वीकृत गरिसकेको राजीनामा अदालतबाट खारेज हुँदा उपाध्यक्ष बिष्ट खुशी हुनुभएको हो ।

पत्रकार भेटमा बिष्टले पालिका अध्यक्ष उपे्रतीलगायत केही कर्मचारीले पदबाट हटाउन अनेक षडयन्त्र गरे पनि सफल नभएको बताउनुभयो । ‘म गलत भए अदालतको फैसला मेरो विपक्षमा आउथ्यो होला । तर, सबैको माया, साथ र सहयोगका कारण न्याय पाएकी छु,’ बिष्टले भन्नुभयो ।

उच्च अदालत पाटनको हेटौंडा इजलाशका न्यायाधीशहरु मोहम्मद साबिर हुसेन र चण्डिराज ढकालको संयुक्त इजलाशले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष बिष्टलाई पुनः कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेको हो । बिष्टले आफूले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा रिट दायर गर्नुभएको थियो । ५ गते उहाँको पक्षमा फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस्