पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको साधारण सभा



न्युज अफ नेपाल, काभ्रे ।

नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको काभ्रे शाखाको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बनेपास्थित सेन्चुरी होटलमा आयोजित सभाको शनिबार उद्घाटन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्षले संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन नेवाः पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।संचारको आजको युगमा कुनै पनि आवाजको बलियो आधार संचार क्षेत्र नै रहेको उल्लेख गर्दै नागरिक अधिकार र सामाजिक न्यायको आवाजलाई दह्रो बनाउने भूमिकामा नेवाः पत्रकार सँधै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।उहाँले स्थानीय भाषाको पत्रकारिता बलियो बनाउन स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुने उल्लेख गर्दै सहकार्यका लागि पहल गर्नु पर्ने बताउनुभयो ।

 पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले काठमाडौं महानगरपालिकाले नेपाल भाषाको प्रयोग विस्तार र विकासमा गरेको योगदानको स्मरण गर्दै अन्य स्थानीय तहले पनि यस कार्यको अनुसरण गर्दै स्थानीय पत्रकारहरुको क्षमता अभिबृद्धिमा ध्यान दिनु पर्ने र ध्यान आकृष्ट गर्नुपर्ने बताउनुभयो ।

सो सभामा पत्रकार दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले दबूले १५ लाखभन्दा बढी रकमको पत्रकार स्वास्थ्योपचार कल्याण कोष स्थापना गरेको उल्लेख गर्दै शाखाको कार्यक्रममा केन्द्रको हात्तेमालो हुने कुरा राखे । सभामा केन्द्रीय कार्यसमितिका सदस्यहरु विजयराम कर्माचार्यले नेपालभाषामा पाइने विविधता भाषाको सुन्दर पक्ष रहेको उल्लेख गर्दै यी भाषा प्रतिक्षण तथा पत्रकारिता तालिम खाँचो औल्याउनुभयो भने पत्रकार राष्ट्रिय दबूका सचिवालय सदस्य विराजकाजी राजोपाध्यायले जुनसुकै माध्यमबाट पत्रकारिता गरेको नेवाः समुदायका पत्रकारहरु दबूको सदस्य भइरहेको जानकारी दिनुभयो ।

पत्रकार राष्ट्रिय दबूकाभ्रे शाखाका सल्लाहकार सुर्यप्रसाद लाकौजुले समावेशी सञ्चारका लागि पत्रकार राष्ट्रिय दबूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । काभ्रे शाखाका उपाध्यक्ष सोमकाजी शाक्यले नेपालभाषा, लिपि प्रशिक्षण तथा क्यालेण्डर प्रकाशन शाखाको योजना रहेको बताउनुभयो । कार्यक्रमको सभापति काभ्रे शाखा अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले काभ्रेको गौरवशाली पत्रकारिता इतिहासको उल्लेख गर्दै ब्यवसायिक विकासका लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाले त्रैमासिक पत्रिका प्रकाशन गर्ने पनि उद्घोष भएको हो ।

प्रतिक्रिया दिनुहोस्