बालिकालाई जर्बजस्ती करणी गरेकाे अभियोगमा शिक्षक पक्राउ



राम धामी, डडेल्धुरा ।

सुस्त मनस्थिती भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना शिक्षकलाई पक्राउ गरिएको छ । गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत सुस्त मनस्थिती भएकी बालिकालाई सोहि बिद्यालयका शिक्षकले जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आईतबार प्रक्राउ गरेको हो ।

भुवनेश्वरी माविद्वारा फरक क्षमता भएका बालबालिकाहरुका लागि सञ्चालित विशेष कक्षामा अध्ययनरत १० बर्षीया बालिकालाई सोही बिद्यालयमा अध्यापन गराउदै आएका शिक्षक देवीलाल भट्टले जबरजस्ती करणी गरेको स्थानीय बासिन्दाहरुको आरोप छ । शाररिक अपांगता भएका बालबालिकाहरुका लागि भुवनेश्वरी माविले सञ्चालन गरेको विशेष कक्षामा आवासीय व्यवस्था छ । फरक क्षमता भएका बिद्यार्थीहरुको आवास नजिकै बस्दैआएका ४२ बर्षका शिक्षक भट्टले शनिबार बालिकालाई जबरजस्ती करणी गरेको स्थानीयले बताएका छन ।

बालिकाको घर डोटीको शिखर नगरपालिका भएको बुझिएको छ । सोही विद्यालयको माध्यामिक तहमा नेपाली विषयका शिक्षक भट्ट पनि डोटीकै आदर्श गाउपालिका घर भई हाल कैलालीको गोदावरी नगरपालिका अत्तरिया बस्दै आएका थिए । प्रतक्ष्यदर्शी स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट आईतबार विद्यालयमा पुगेको प्रहरी टोलीले शिक्षक भट्टलाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिई गएको प्रहरीको टोलीले अभियुक्त शिक्षक भट्टलाई नियन्त्रणमा लिई सकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए ।

पक्राउ गरिएका शिक्षक भट्टलाई थप अनुसन्धान गरेर कारवाही प्रकृया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ल्याइएको र पीडित बालिकाको स्वास्थ्य परिक्षणसहित घटनाको सुक्ष्म अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अभियुक्त शिक्षक भट्टले बालिकालाई जबरजस्ती करणी गरेको स्वीकार गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले आईतबार विद्यालय परिसरबाटै नियन्त्रणमा लिएको भुवनेश्वरी माध्यामिक विद्यालय प्रशासनले जनाएको छ ।

प्रहरीले प्रचलित कानून अनुसार जिल्ला अदालत डडेल्धुराबाट हिरासतमा राखेर अनुसन्धान गर्नका लागि आदेश माग गर्ने र अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाई अभियुक्तबिरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्