अन्यौलमा दीवा खाजा कार्यक्रम



कृष्णउदास खनाल, वीरगन्ज ।

बीरगन्ज महानगरपालिकाको ८९ वटा विद्यालयहरुमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रम अन्यौलताका कारण प्रभावित भएको छ । कोरोनाका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरुले महानगरपालिकालाई आवश्यक विवरण नपठाउँदा व्यवस्थापन बीचको असमन्वयका कारण खाजा कार्यक्रम प्रभावित भएको हो ।

कोरोना कहरपछि सञ्चालनमा आएका विद्यालयहरुले विद्यार्थीहरुको संख्या लगायतका आवश्यक महानगरपालिका कार्यालयलाई हालसम्म नपठाएको शिक्षा महाशाखाले जनाएको छ । जसका कारण खाजा कार्यक्रम बापतको रकम महानगरपालिकाले निकासा गर्न सकेको छैन ।

खाजाका कार्यक्रमका लागि आवश्यक पर्ने तयारी तथा विद्यालयका प्रधानाध्यापकहरुको लापरवाहीका कारण दिवा खाजा कार्यक्रम प्रभावित बनेको बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाले जनाएको छ । ५ कक्षा माथिका विद्यालयहरु पूर्ण रुपमा खोल्न बीरगन्ज महानगरपालिकाले विद्यालयहरुलाई परिपत्र गरेको भए पनि ५ कक्षा मुनिको हकमा आवश्यक तयारी पुरा भए खोल्ने अथवा नखोल्ने विषयमा विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिइएको थियो । शिक्षा महाशाखा र विद्यालय व्यवस्थापबीचको अन्योलताका कारण दिवा खाजा कार्यक्रम प्रभावित बनेको सरोकारवालाहरुको भनाई छ ।

यसैबीच, आउने साताबाट विद्यालयहरुमा खाजा कार्यक्रम सञ्चलान गर्न आफुहरु तयारीमा लागि परेको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताउनुभएको छ । कोरोनापछि सञ्चालनमा आएका विद्यायहरुले विवरण अझै पठाई नसकेको र पठाउने क्रम जारी रहेका कारण खाजा कार्यक्रम सञ्चालनमा केही ढिलाई भएको कर्णले बताउनुभयो । यो सातासम्म डिजिटल विवरण प्राप्त भईसकेपछि महानगरले दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिनुभयो ।

यता, बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीेले दिवा खाजा कार्यक्रम सञ्चालन गर्न कर्मचारीहरुलाई निर्देशन दिए पनि विद्यालयहरुको गैरजिम्मेवारीपनका कारण कार्यक्रम अगाडि बढन नसकेको स्वीकार गर्नुभयो । आर्थिक वर्ष सम्पन्न हुन अब थोरै समय मात्र बाँकी रहेका कारण कार्यक्रम यस वर्ष सम्भवतः दिवा खाजा कार्यक्रम सञ्चालन हुनेमा उहाँले आशंका व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्