धुलिखेलको आठौ विधेयक अधिबेशन सम्पन्न, ७३ वटा विधेयक र कार्यविधि तयार



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा भएको धुलिखेल नगरपालिकाको आठौ विद्येयक अधिबेशनको दोश्रो बैठक सम्पन्न गरेको छ । सभाध्यक्ष अशोक ब्याञ्जुले अघिल्लो बैठकमा पेश भएका विधेयक मस्यौदाहरु उपर प्राप्त प्रतिक्रिया, राय सुझाव तथा शंशोधनका बारेमा धारणा राख्दै प्रशासनिक निर्णयहरु निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।

‘निर्वाचनको समयमा ब्यक्त गरेका थुप्रै प्रतिवद्धता अनुरुप एक घर एक धारा, बालमैत्री तथा पर्यटकिय पार्कहरु निर्माण, बालमैत्री नगर घोषणा, बालश्रम मुक्त नगर, मेयर गरिवी निवारण कोष मार्फत परिषद गठन गरी ८ सय ६५ जना ब्यक्तिहरुलाई सिप प्रदान, ७ सय क्षमताको सभा हल निर्माण, अपाङ्गमैत्री इको ट्रेल निर्माण, दरवन्दी मिलान गरी १६ वटा विद्यालयमा बहुकक्षा बहुस्तर पद्धतीबाट सिकाई सहजीकरण, स्वस्थ शहर निर्माण, कृषिमा आधुनिकीकरणका लागि प्रविधिमैत्री सामाग्री हस्तान्तरण गरी नेपालकै नमुना नगरपालिकाका रुपमा चिनिएका छौं’–नगर प्रमुख एवं सभाध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘हालसम्म ७३ वटा विधेयक र कार्याविधि पास गरेर धेरै कानुन र कार्यविधि पास गरेका छौं ।’

धुलिखेल नगरपालिकाले कोभिड १९ का बाबजुत पनि आर्थिक वर्ष २०७६/२०७७ मा पूर्वाधार तर्फ ९५.३८ प्रतिशत र बजेट खर्चका हिसावले ९९.१६ प्रतिशत खर्च भएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी गराउनु भयो । त्यस्तै निर्वाचित भएको पहिलो वर्षमा पूर्वाधार तर्फ ९२ प्रतिशत र दोश्रो वर्ष ९१ प्रतिशत उपलब्धी हासिल गरेको उहाँले बताउनु भयो । नगर सभाको आठौ विधेयक अधिबेशनबाट धुलिखेल नगरपालिकाको खानी तथा खनिज पदार्थ सम्वन्धी ब्यवस्था गर्न बनेको विधेयक २०७७, नगरपालिकाको सक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि २०७७, नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०७५ लाई शंशोधन गर्ने प्रस्ताव सर्वसम्वतबाट पास भएको छ ।

सभाले राष्ट्रपति विद्यादेवी भण्डारीले धुलिखेल नगरपालिकाको विकास र समृद्धका लागि गर्नु भएको सहजिकरणलाई सभाले अनुमोदन गरी धन्यवाद सहित पास गरेको छ भने ३५ औ स्थापना दिवसमा प्रमुख अतिथी रहनु भएका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, पुर्व मन्त्री गोकुल बास्कोटा सहित सम्पूर्ण अतिथी र सहभागि नागरिकहरुलाई धन्यवाद ज्ञापन गरेको प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्