गाँजा नियन्त्रण अभियान : अवरोध गर्ने वडा अध्यक्ष प्रहरी नियन्त्रणमा



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा गाँजाको उर्वर भूमि मानिएको क्षेत्रमा प्रहरीले दिनहुँजसो गाँजा बरामद र स्थानीयलाई नियन्त्रणमा लिन थालेको छ । गाउँमा पुगेको प्रहरीले असभ्य गतिविधि गरेको भन्दै स्थानीयले अवरोध उत्पन्न गर्न थालेका छन् ।

शनिबार साँझ करिब ५ः३० बजे राक्सिराङ गापा वडा–१ स्थित गाल्छाराङमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रसनि शिवराज गुरुङको कमाण्डमा इप्रका नेवारपानीसहितबाट खटिएको ११ जनाको प्रहरी टोलीले गाल्छाराङमा बारिमा लुकाइराखेको करिब १८ क्वीन्टल गाँजा जलाएर फर्कने क्रममा स्थानीयले अवरोध गरेका हुन् ।

राक्सिराङ गापा वडा–१, कुपिनटारस्थित सडकमा स्थानीयले अवरोध गरी प्रहरीको काम/कारबाहीमा बाधा पुर्‍याउने काम गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका गाडीहरु र प्रहरीमाथि हातपात भएको र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीबाट २ राउण्ड हवाइफायर गरिएको थियो । सोही क्रममा इप्रका मनहरीबाट प्रनि बिनोद श्रेष्ठ र सशस्त्र प्रहरीको आईआरटी पोष्ट कत्लेखोलाबाट सप्रनानिको कमाण्डमा रेस्क्युका लागि थप टोली खटिनुपरेको थियो ।

प्रहरी टोलीले स्थिति सामान्य बनाएर बाटो अवरोध गरी प्रहरीको काम/कारबाहीमा बाधा पुर्‍याएको भन्दै राक्सिराङ गापा वडा–१ बस्ने वर्ष ४३ का कान्छालाल रुम्बालाई नियन्त्रणमा लिएको थियो । रुम्बा वडा अध्यक्ष हुन् । ‘गाँजा अपरेसन’ का लागि भन्दै गएको प्रहरी टोलीले गाउँमा लुटपाट मच्चाउन थालेपछि घटनास्थल पुगेका वडाध्यक्ष रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी र गैरप्रहरीसमेत लिएर शंकास्पद्रुपमा राति करिब ९ बजे गाँजा खानतलासी गर्ने भन्दै बियर, ड्युका कार्टुन र अन्य सामानसमेत उठाएर हिँडेपछि प्रतिकार गरिएको स्थानीयको दाबी छ । रुम्बालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनामा प्रहरी टोलीको नेतृत्व गरेर पुग्नुभएका इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रेष्ठले वडा अध्यक्षलाई पक्राउ गरिएको स्वीकार गर्नुभयो । तर, स्पष्ट कारण भने खुलाउनुभएन ।

सोही क्रममा कुपिनटारस्थित बारिमा १५ केजी गाँजा र १४ केजी गाँजाको भाङ बेवारिस अबस्थामा फेला पारी बरामद गरिएको छ । उक्त गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्