नेपाल समाचारपत्रकर्मी सम्मानित



काठमाडौं, नेस ।

नेपालकै ज्येष्ठ खेलकुद संस्था नेपाल व्यायाम मन्दिरले शनिबार वार्षिक साधारण सभाको अवसरमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका खेल पत्रकार कविरस शर्मा तथा राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका दामोदर अर्याललाई सम्मान गरेको छ ।

खेल पत्रकारिताको माध्ययमबाट व्यायाम मन्दिरले गर्दै आएको विभिन्न क्रियाकलापका साथै शारीरिक सुगठनमा राष्ट्रकै उच्च सम्मानित शहिद धर्मभक्त माथेमाको नाममा रहेको धर्म श्री को प्रचार प्रसारलाई निरन्तरता प्रदान गर्दै नेपाल व्यायाम मन्दिरको विकास र विस्तारमा गर्दै आएको योगदानको मूल्यांकन गर्दै नेपाल समाचारपत्रकर्मी कविरस शर्मा र राखेपका दामोदर अर्याललाई नगद १० हजारसहित सम्मान–पत्र प्रदान गरिएको हो ।

सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद पूर्वरक्षामन्त्री भिमसेन दास प्रधानलगायत नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान र पहिलो मिस्टर नेपाल शिवलाल श्रेष्ठले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाल व्यायाम मन्दिरका पदक विजेता खेलाडी रजनी श्रेष्ठ, राम बहादुर दाहाल लगायत लामो समयदेखि नेपाल व्यायाम मन्दिरमा योगदान पुर्‍याउनु हुने व्यक्तिहरूलाई पनि नगद सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्