व्यवसाय प्रवद्र्धनका लागि पुलको क्षमता बाधक



अमृत अर्याल, स्याङजा ।

राम्दी पुलसँग जोडेर एक दर्जनभन्दा बढी लोकगित गाइएका छन् । तर, राम्दी पुल देख्दा राम्रो र आकर्षक भए पनि क्षमता भने कमजोर छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा र स्याङजा जिल्ला जोड्ने कालीगण्डकीमा अवस्थित राम्दी पुलको भारवहन क्षमता कम हुँदा धेरै लोड बोक्ने ठूला ट्रक चल्दैनन् ।वर्षौ अगाडि निर्माण गरिएको सिद्धार्थ राजमार्गको कारण यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर, स्याङ्जा र पाल्पा जोड्ने राम्दीस्थित कालीगण्डकीमा निर्माण गरिएको पुलको स्तरोन्नती समयानुकुल नहुँदा यस क्षेत्रको उद्योग र व्यवसायमा प्रभाव परेको छ ।

राम्दीको पुलको भारवहन क्षमता कम भएकाले हेभी ट्रक आउन नपाउँदा माल ढुवानीमा भाडा महँगो पर्न गई उद्योगी व्यवसायी एवम् उपभोक्तालाई समेत प्रभाव परेको व्यवसायीको गुनासो छ ।सिद्धार्थ राजमार्गको स्तरोन्नति भएमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय विकास हुने र पुलको क्षमता वृद्धिबाट हेभी ट्रक सजिलै आवतजावत गर्न गराउन सकेमा विभिन्न खालका उद्योग स्थापना गर्न सकिने वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण बताउनुहुन्छ । उत्पादित वस्तुको बजारीकरणमा सहज हुने तथा आयातित वस्तुको मूल्य सस्तो पर्न गई उद्योगी व्यवसायी तथा आम उपभोक्तालाई समेत फाइदा पुग्ने खाँणको ठहर छ ।

केही समय अगाडि तानसेन नगरपालिकामा सिद्धार्थ राजमार्गसँग जोडिएका विभिन्न पालिका प्रमुख÷उपप्रमुख एवम् विज्ञको बैठक बसी सिद्धार्थ राजमार्ग एवम् राम्दीस्थित कालीगण्डकी पुलको स्तरवृद्धिका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएता पनि कार्यान्वयन नहुँदा समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो । स्याङजा जिल्ला पोखरा र बुटवल÷भैरहवा जस्ता दुई ठूला शहर को बीचमा भएका कारण उत्पादित वस्तुको बजारको सम्भावना राम्रो छ । यी दुई शहरमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आईसकेपछि त्यसबाट फाइदा लिनका लागि समेत राजमार्ग तथा पुलको स्तरउन्नति अपरिहार्य रहेको पौडेलको भनाइ छ । यस क्षेत्रको उद्योग र व्यापारको विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत पनि सरकारसँग पहल गर्न सकिने केन्द्रीय सदस्य पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्