मालपोतमा घूस नदिई काम हुँदैन भन्ने कुरा एकादेशको कथा हो



रविन अधिकारी
मालपोत अधिकृत,
मालपोत कार्यालय
वलिङ

मालपोत ऐन संशोधन क्रममा रहेको र उक्त ऐन संशोधन गरी प्रमुख मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको व्यक्तिले गर्ने गरी संशोधन भएपछि मालपोतको अधिकांश काम स्थानीय तहबाटै हुने गरेको छ । हाल स्याङ्जाको मध्य भागमा अवस्थित मालपोत कार्यालय वालिङले आफ्नो कार्य क्षेत्रभित्र पर्ने भीरकोट, वालिङ, चापाकोट र गल्याङ नगरपालिका तथा कालीगण्डकी, हरिनाश र बिरुवा गाउँपालिकामा सेवा प्रवाह गरिरहेको छ । यस कार्यालयबाट जग्गाको किनबेच, लिखत पारित, संशोधन, जग्गा रोक्का, फुकुवा, लेखापढीलगायतका काम हुँदै आएको छ । प्रस्तुत छ, समसामयिक विषयमा मालपोत कार्यालय वालिङका मालपोत अधिकृत रविन अधिकारीसँग स्याङ्जा संवाददाता अमृत अर्यालले गरेको कुराकानी:

मालपोत कार्यालय वालिङको सेवा क्षेत्र के–के हो ?

यस मालपोतले मुख्यत चार प्रकारको काम गर्दछ । पहिलो हो लिखत पारित । यसमा जग्गा किनबेच हुँदा हुने रजिस्टे«सन पास, बकसपत्र, शेषपछिको बकस, अंशवण्डासम्बन्धी लिखत तथा अन्य लिखत हुन्छ । दोस्रो कार्य भनेको मुद्दासम्बन्धी कार्य हो । यसमा नामसारी, दाखिला खारेज, गुठीसम्बन्धी र मोहीसम्बन्धी कार्य हुन्छ । तेस्रो भनेको रोक्का फुकुवाको काम हो जुन बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित हुन्छ । चौथो कार्य भनेको संशोधनको काम हो । यसमा घरकायमदेखि पुर्जामा कुनै त्रुटि भएमा सच्याउने हो ।

यस कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेको कति भयो ?

मालपोत कार्यालय भवनको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तत्कालीन मन्त्री पद्माकुमारी अर्यालबाट २०७७ साल मंसिर ५ गते भएको हो र सोही मितिबाट नै हामीले आफ्नो भवनबाट सेवा दिन थालेका हौं ।

मालपोत कार्यालयको सबैभन्दा प्राथमिकतामा परेको विषयचाहिँ के हो ?

मालपोत कार्यालय वालिङको प्राथमिकता भनेको नै सेवाग्राहीलाई छिटोभन्दा छिटो गुणस्तरीय सेवा दिनु हो । मालपोत कार्यालय भनेको धेरै भीडभाड हुने कार्यालयमध्ये पर्दछ । कर्मचारीको अभाव तथा प्रक्रिया लामो हुनाले काम गर्दा केही समय लाग्नु स्वभाविक नै हो । तर, यसलाई हामीले कसरी सुधार गर्न सकिन्छ भनेर कार्ययोजना बनाएका छौं । यसैअनुरूप यही महिनाको १८ गते भू–सूचना केन्द्रका लागि ३० दिने सूचना पनि प्रकाशित गरिसकेका छौं । भू–सूचना केन्द्र सुचारु भइसके पछि सेवाग्राहीलाई लेखापढीकोमा आइराख्न पर्दैन । सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गई नै लिखत तयार गर्न सक्नुहुन्छ । त्यस्तै रोक्का फुकुवाका लागि वित्तिय संस्थाले आफैंले कार्य गर्न सक्दछ । यसले मालपोतमा हुने ५० प्रतिशत भीड कम हुने अपेक्षा राखिएको छ ।

मालपोत क्षेत्रका समस्या र सुधार गर्नुपर्ने पक्ष के छन् ?

मालपोतको मुख्य समस्या भनेको नै यसको लामो प्रक्रिया हो, जसले गर्दा भीडभाड बढी हुनु हो । देशभरको १ सय ८ कार्यालयमा अनलाइनमार्फत सेवा सुचारु भइसकेको अवस्थामा अब मालपोतलाई सम्पूर्णरूपमा अनलाइनमा लैजाने गरी प्रक्रिया अगाडि बढाउने समय आइसकेको छ । मालपोतलाई पेपरलेस र फेसलेस बनाउनु नै यसको समाधान हो ।

तर, मालपोतका कर्मचारीले घूस नलिई काम गर्दैनन् भन्ने आरोप छ नि ?

हो, यसै मानसिकतालाई चिर्न जरुरी छ । म मान्छु हिजोको दिनमा मालपोतमा घूस नलिई काम हुँदैन थियो होला । जनगुनासो धेरै थियो तर अब यो समय बदलिइसकेको छ । हाम्रो सम्पूर्ण काम अनलाइनमार्फत हुन्छ, हरेक कर्मचारीलाई निगरानी गर्न कार्यालयमा १४ वटा अडियोसहितको सीसीक्यामेरा छ । सम्पूर्ण काम पारदर्शी होस् भनेर कोठा हटाएर एउटै फ्लोरमा काम हुन्छ । आम सेवाग्राहीलाई पनि म के अनुरोध गर्न चाहन्छु भने मालपोतमा तपाईंसँग कसैले केही पैसा माग्छ भने रसिद माग्नुहोस् । रसिदबिना कहिल्यै पनि पैसा नर्तिनुहोला । अहिलेको लिखत बनाउन एकदमै सजिलो छ, लिखत आफंै तयार गर्नुहोस् । मालपोतमा सेवा लिन आउँदा कार्यालयभन्दा बाहिरको मान्छेको कुरा नसुन्नुहोस् । सोझै कार्यालयमा आई कर्मचारीसँग आफ्नो कुरा राख्नुहोस् । मालपोतमा घूस नदिई काम हुँदैन भन्ने कुराचाहिँ अब एकादेशको कथा भइसक्यो ।

जग्गा तथा नापी क्षेत्रमा हुने मुख्य विवाद के हो र यसको समाधान कसरी हुन सक्छ ?

जग्गा तथा नापी क्षेत्रमा हुने मुख्य विवादको कारण भनेको नै हाम्रो डिजिटल नक्सा तयार नहुनु हो । एक त जग्गा त्यसै पनि मूल्यवान् चिज हो जसले लोभलाई उब्जाइदिन्छ । अर्को कुरा भनेको हाम्रो पुरानो नक्सा एकुरेट नभएका कारणले विवादलाई बढावा दिएको छ । अर्को भनेको हाम्रो कानुन पनि समयसापेक्ष नहुनु हो । अब बन्ने कानुन मुलुकी देवानी संहिता ऐन–२०७४ को आधारमा हुनुपर्दछ । साथै देशैभर डिजिटल नक्साको तयारीलाई एकरूपता साथ चाँडोभन्दा चाँडो कार्यान्वयन हुनुपर्दछ ।

डिजिटल प्रविधिबाट जग्गाको नापजाँच गर्दा फाइदा के हुन्छ ?

डिजिटल प्रविधिबाट धेरै नै फाइदा हुन्छ । यसले हाम्रो हुमन इरोरलाई न्यूनप्रायःमा झारिदिन्छ । त्यस्तै प्राविधिकलाई जग्गाको विवाद सल्टाउन फिल्ड गइरख्नुपर्ने बाध्यतालाई धेरै नै न्यूनीकरण गर्दछ ।

जग्गाको सीमासम्बन्धी विवाद अब डिजिटल नापजाँचबाट अन्त्य हुन्छ त ?

मैले पहिला पनि भनिसकें जग्गा भनेको मूल्यवान चिज हो । मानव इतिहासदेखि नै जग्गाका लागि झगडा भइरहेको छ । डिजिटल नापजाँचले सीमामा एताउता हुने सानातिना समस्यालाई पक्कै अन्त्य गर्दछ तर जबसम्म व्यक्तिको स्वामित्व जग्गामा हुन्छ तबसम्म जग्गासम्बन्धी विवाद अन्त्य हुँदैन ।

मोटरबाटो बनेको व्यक्तिका जग्गाको लगतकट्टा कहिले होला ?

पक्कै पनि यो हाम्रो वालिङको मात्र समस्या नभएर देशैभरको समस्या हो । स्थानीय तहको निर्वाचन भइसकेपछि धेरै नै नयाँ सडक विस्तारको काम भएको छ । हाम्रो स्याङ्जाको हकमा पुनः नापी शुरु भइसकेको छ । यसले अहिलेको बाटो, कुलोको लगतकट्टाको काम गर्दछ । त्यस्तै मालपोत नियमावलीमा पनि लगतकट्टाको व्यवस्था भएकाले कुनै व्यक्तिले निवेदन दिनुहुन्छ भने हामी सार्वजनिक बाटो भनेर कायम गरिदिन्छांै ।

तपाई यस कार्यालयको प्रमुख हुनुभएको ८ महिना हुन लाग्यो । हालसम्म आफ्नो कामको आत्मसमीक्षा कसरी गर्नुहुन्छ ?

कोरोनाको माहामारीका बेला यस कार्यालयमा आएको हँु । स्याङ्जा जिल्लामा पनि कोरोनाको प्रकोप बढेसँगै निषेधाज्ञा जारी भएको अवस्थामा हामीले आंशिक काम ग¥यौं । त्यस्तै महामारीको प्रकोप नियन्त्रण गर्न बारअनुसार स्थानीय तह निर्धारण गरी सेवा दियौं । यसै बीच हामीले तोकिएको म्यादभित्र नै भवनको काम सकी नयाँ भवनबाट सेवा सुचारु गर्न सक्यौं । हामीले पूर्णरूपमा महिनाभरि काम गर्न पाएको भनेको पौष महिनामा मात्रै हो । सो महिनामा अहिलेसम्मको नै धेरै राजस्व करिब ९४ लाख संकलन गर्न सफल भयौं । समग्रमा भन्दा मालपोत कार्यालय वालिङले विगत आठ महिनमा कोरोना प्रकोपको बाबुजुद पनि उत्कृष्ट काम गर्दै आम जन्तालाई सेवा प्रवाह गरी लक्ष्यअनुसारको राजस्व संकलन गरिरहको छ ।

अन्त्यमा आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?

मालपोतको सेवा तपाईंको वडा–वडामा आउँदै छ । हाम्रो लक्ष्य चैत १ गतेदेखि सम्पूर्ण वडामा भू–सेवा केन्द्र सञ्चालन गर्ने रहेको छ । अब मालपोतको आधा काम तपाईंकै वडाबाट हुन्छ र चाँडै नै सम्पूर्ण काम स्थानीय पालिकाबाट नै हुन्छ । मालपोत कार्यालयसम्बन्धी केही गुनासा सुझाव भए मलाई व्यक्तिगत तर्फबाट वा मालपोत कार्यालयमा आई आफ्नो कुरा राख्न सक्नुहुन्छ ।

हाम्रो सम्पूर्ण काम अनलाइनमार्फत हुन्छ, हरेक कर्मचारीलाई निगरानी गर्न कार्यालयमा १४ वटा अडियोसहितको सीसीक्यामेरा छ । सम्पूर्ण काम पारदर्शी होस् भनेर कोठा हटाएर एउटै फ्लोरमा काम हुन्छ । आम सेवाग्राहीलाई पनि म के अनुरोध गर्न चाहन्छु भने मालपोतमा तपाईंसँग कसैले केही पैसा माग्छ भने रसिद माग्नुहोस् । रसिदबिना कहिल्यै पनि पैसा नर्तिनुहोला ।अहिलेको लिखत बनाउन एकदमै सजिलो छ, लिखत आफंै तयार गर्नुहोस् । मालपोतमा सेवा लिन आउँदा कार्यालयभन्दा बाहिरको मान्छेको कुरा नसुन्नुहोस् । सोझै कार्यालयमा आई कर्मचारीसँग आफ्नो कुरा राख्नुहोस् । मालपोतमा घूस नदिई काम हुँदैन भन्ने कुराचाहिँ अब एकादेशको कथा भइसक्यो ।

प्रतिक्रिया दिनुहोस्