आपसी विवादमा श्रीमतीको हत्या



दोलखा, (नेस) ।

एक युवकले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । शनिबार बिहान करिब साढे दुई बजेतिर आपसी विवादमा कालिञ्चोक गाउँपालिका–६ लापिलाङ आग्रालयका २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरी २१ वर्षीय श्रीमती सुनिता थामीको हत्या गरेका हुन् ।

हत्याको खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरीक्षक अञ्जन कोइरालाको नेतृत्वमा गएको टोलीले आरोपित हिमाल थामीलाई कालिञ्चोक गाउँपालिका–७ सिसागोलाईबाट पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताउनुभयो । हत्या आरोपीको खोजीमा घटनास्थल आसपास पुगेको प्रहरी टोलिले श्रीमतीको हत्या गरी दोलखा सिंगटी सडक खण्डतिर आइरहेका हिमाललाई शनिबार बिहान सिसागोलाईमा पक्राउ गरेको हो ।

आरोपी हिमालको पहिलो श्रीमतीले पनि तीन वर्षअघि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आरोपीको पहिलो श्रीमतीबाट चार वर्षको छोरा र मृतक सुनिताबाट १३ महिनाको छोरा छन् ।शनिबार बिहानै सडकतिर आइरहेका हिमाललाई सोधपुछ गर्दा उनले आपसी विवादमा श्रीमतीको हत्या गरी प्रहरी कार्यालयतिर जान लागेको बताएका प्रहरी निरीक्षक कोइरालाको कथन छ । श्रीमतीको हत्या गरी भागेका हिमालको अनुहारमा रगतको छिटासमेत भएकाले पक्राउ गर्न सहज भएको उहाँको भनाइ छ ।

मृतक सुनिताको अनुहार र शरीरको विभिन्न भागमा खुकुरकिो चोट रहेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक भेषराज रिजाल आफैं घटनाको अनुसन्धानका लागि घटनास्थल पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्