सफलताको श्रेय दिने एउटै मान्छे छैन : रचना रिमाल



रश्मी थापा

टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा होस् या संगीतप्रैमीहरुको मन–मनमा, अहिले आफ्नो मीठो स्वरका कारण प्रशंसामाथि प्रशंसा पाइरहेकी छन् गायिका रचना रिमालले। नेपाल आइडल सिजन–३ को उत्कृष्ट–८ प्रतिस्पर्धी रचनाले गाएकामध्ये धेरै गीत चर्चाको शिखरमा छन्। फोटो फिरिममा, रुमाल चिनो, सुन न पियारा, मिनरल वाटर, छुकछुक छुकछुक रेलैको इन्जिनलगायतका थुप्रै गीत हिट छन्। केवल १८ वर्षकी उनले छोटो समयमै अढाइ सय गीत गाइसकेकी छिन्। उनीसँग गरिएएको कुराकानी यस प्रकार छ :

हाल के गर्दै हुनुहन्छ?

गीत रेकर्डिङ, सुटिङ तथा केही स्टेज कार्यक्रम गरिरहेको छु। गीत–संगीतका कामले नै व्यस्त बनाइरहेको छ।
नेपाल आइडलमा विजयी नभए पनि त्यसैबाट एक्कासि चर्चाको शिखरमा पुग्नुभयो नि?
हजुुर, पहिला पनि मैले गाएका गीतहरु विभिन्न य्ुट्युब च्यानलमार्फत आएका त थिए, धेरैले राम्रो स्वर रहेछ भनेर कमेन्ट गर्नुहुन्थ्यो। नेपाल आइडलमा भाग लिएपछि भने धेरै जनाले चिन्नुभयो र थप चर्चा दिलायो।

नेपाल आइडलमा भाग लिने सोच कसरी आयो?

नेपाल आइडलमा सहभागी हुनुअघि नै विभिन्न युट्युबले मेरो धेरै अन्तर्वार्ता लिएर हालेका थिए। मैले गाएको गीत सुनेर धेरै दर्शक स्रोताले यति राम्रो स्वर रहेछ नेपाल आइडलमा भाग लिनुस् न भनेर सल्लाह दिने गर्नुहुन्थ्यो। त्यति बेला म कक्षा १० मा पढ्दै थिएँ। उमेर पुगेकै थिएन। आफन्तहरुले पनि स्वर राम्रो छ, नेपाल आइडलमा भाग लिनु  भन्ने सल्लाह दिनुभएपछि अडिसन दिन गएँ। पहिलोचोटी रियालिटी शोमा भाग लिएर जर्जहरुका अगाडि गाउँदा म डराइरहेको थिएँ। डराउँदै गीत गाइरहेको थिएँ। तर, पछि सेलेक्ट पनि भएँ र टप–८ सम्म पुगें। नेपाल आइडलमा त्यहाँसम्म पुग्छु भन्ने मैले सोचेकै थिइनँ। विजयी नभए पनि त्यहाँ भाग लिएर मैले धेरै कुरा सिक्ने मौका पाएँ।

दिनमै ३-४ वटा गीत रेकर्ड गराइरहनुभएको छ, व्यस्तताअनुसारको कमाइ कतिको हुन्छ?
पहिलेको भन्दा पछिल्लो समय व्यस्ततासँगै कमाइ राम्रो छ। गीत रेकर्डिङसँगै स्टेज कार्यक्रम पनि भइरहेको हुन्छ, जसले गर्दा थप कमाइ हुन्छ।

पढाइ र गायनलाई सँगै लैजान कतिको गाह्रो भइरहेको छ?
मैले झापामा कलेज ज्वइन गरेको थिएँ। झापामा कलेज पढिरहेका बेला नेपाल आइडलमा सहभागी हुन काठमाडांै आएँ, त्यो बेला पढाइ छुट्यो। पछि पनि गीत रेकर्डिङ र व्यस्तता बढ्न थालेपछि कलेज रेगुलर जान सकिनु। कलेज नगए पनि घरमै पढिरहेको छु। कलेज यतै भएको भएचाहिँ रेगुलर कलेज जान सक्ने थिएँ र पढाइमा थप राम्रो गर्न सक्ने थिएँ भन्ने लाग्छ। करिअरका कारण पनि म काठमाडौंमा बस्नुपर्ने बाध्यता छ। एक्जाम दिन झापा जानेछु्। त्यसपछिको पढाइ भने काठमाडौंबाट निरन्तरता दिने सोच छ।

यो उमेरमै यतिको सफल बन्छु भन्ने लागेको थियो?
सानैदेखि भजनहरु गाउने र अरूले पनि स्वर राम्रो छ भन्ने गरेको भए पनि म पहिलोचोटी झपामा हुँदा गायन प्रतियोगितामा भिड्न जाँदा फस्ट भएको थिएँ। त्यही बेलादेखि म गाउन सक्ने रहेछु भन्ने आफैंलाई विश्वास लाग्यो र गायिका बन्न सक्छु भन्ने सोच आयो। गीत गायनको क्षेत्रमा लाग्छु भन्ने सोच त थियो नै, तर गायनमार्फत छोटो समयमै यहाँसम्म आइपुग्छु भन्ने चाहिँ सोचेको थिइनँ। कहिलेकाहीं नसोचेको कुरा पनि हुँदोरहेछ।

आफ्नो सफलताको श्रेय कसलाई दिनुहुन्छ?

सफलताको श्रेय दिने एउटै मान्छे छैन। धेरै जनाले म यो स्थानसम्म आउनका लागि साथ दिनुभएको छ र सहयोग गर्नुभएको छ। बाबाममी तथा परिवारले आफ्नो ठाउँबाट सपोर्ट गरिरहनुभएको छ। म सानैदेखि आफैं मादल बजाएर भजनकीर्तन गाउने गर्थें। कक्षा ४ देखि स्कुलमा गाउन थालेको थिएँ। त्यसपछि स्कुलमार्फत विभिन्न सिङ्गिङ कम्पिटिसनमा भाग लिन थालें। पुरस्कारहरु पनि जितें। कुनै बेला फस्ट पनि भए। यदि मेरो परिवारले यस्तो नगर भनेको भए आज म यहाँसम्म आइपुग्दिन थिएँ होला। यसमा मेरो परिवार र शिक्षक तथा साथीभाइको पनि सहयोग थियो। नेपाल आइडलमा सहभागी भएपछि र गीत रेकर्डिङ गर्न थालेपछि भने सांगीतिक क्षेत्रका व्यक्तित्व तथा सबै दर्शकले माया गरिरहनुभएको छ। यस कारण सबै जनालाई मेरो सफलताको श्रेय दिन चाहन्छु।

फिल्ममा पनि गाइरहनुभएको छ होइन?
दुई-तीनवटा साना फिल्मका लागि गीत गाएको छु। तर, मलाई ठुला फिल्ममा गाउने इच्छा छ। हेर्दै जाउँ, आफ्नोतर्फबाट राम्रो काम गर्दै जाउँ। इच्छा पुरा हुन गाह्रो पनि छैन जस्तो लाग्छ।

अब कुन संगीतकारको गीत गाउने मन छ?

मलाई राजनराज शिवाकोटी दाइको संगीतमा गीत गाउने मन थियो, गाइसकेको छु। अब काम नगरेका सबै जनासँग काम गर्ने मन छ। मैले अहिलेसम्म नगाएका फरक जनराका गीतहरु ट्राई गर्न मन छ।

कुन विधाको गायन सजिलो र कुन गाह्रो लाग्छ?
मलाई आधुनिक गीत गाउन सजिलो लाग्छ तर जुन विधाको गीत गाएको छु, ती मलाई गाह्रो पनि महसुस भएको छैन।

राम्री हुनुहुन्छ, टिकटकमा छाइरहनुभएको छ। अभिनय पनि गर्ने मन छ कि?
कहिलेकाहीं मन लाग्यो भने आफ्नै गीतमा अभिनय गर्छु। तर, मोडलिङ नै गर्छु भन्ने सोच चाहिँ छैन। आफुले गाएका गीतका भिडियोहरुमा धेरैमा लिप्सिङ गरेको छु। एउटा आफ्नै गीतमा भने अभिनय पनि गरेको छु।

अरूको गीतको भिडियोमा मोडलिङ गर्न मजा कि आप्नैमा?
अरूको भन्दा आफ्नो गीतमा मोडलिङ गर्न सजिलो हुन्छ। अरूको गीतमा अफर आएको छैन। आयो भने गर्छु कि गर्दिनु भन्ने सोचेको पनि छैन।

तपाईंलाई कुनै दिन नायिकाका रूपमा पनि देखिन्छ कि?

अहिले त म व्यस्त छु ।त्यसका बारेमा सोचेको छैन। गायिका बन्ने सोच थियो। गायनमा आएँ, तर मैले संगीत सिकेको छैन। दुई वर्षअघि कक्षा ९ मा पढ्दै गर्दा झपामै संगीत सिक्न गएको थिएँ। तर, निरन्तरता दिन पाइनँ। अब चाहिँ सिक्दै करिअरलाई अगाडि बढाउने सोच छ। अन्य विधाभन्दा पनि गायनलाई नै निरन्तरता दिने सोच छ।

प्रतिक्रिया दिनुहोस्