विकट गाउँमा तयार भयो ‘मेरो राक्सिराङ’



हेटौंडा, (नेस) । 

देशका ठुला स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गर्न नसकेको बेला मकवानपुरको विकट गाउँ राक्सिराङले आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको छ  पालिकाले जिल्लामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको हो ।

पालिकाका सबै विद्यालयका कक्षा–१ देखि ५ कक्षासम्म लागँ गर्ने गरी गाउँको सेरोफेरोका विभिन्न तथ्य समेटिएको पुस्तक ‘मेरो राक्सिराङ’ तयार गरेको छ । गाउँका माविहरू खैराङको कालिका, सिलिंगेको राष्ट्रिय, सरिखेतको सुर्योदय र चैनपुरको प्रजाकल्याण विद्यालयमा ‘मेरो राक्सिराङ’ पढाइ सुरू भइसकेको छ ।अतिसीमान्तकृत चेपाङ समुदायको बाक्लो उपस्थिति रहेकाले स्थानीय पाठ्यक्रममा सीमान्तकृत चेपाङ समुदायबारेमा करिब ३५ प्रतिशत्भन्दा बढी ज्ञानवद्र्धक सामग्री समेटिएको छ । चेपाङ जातिले मनाउने चाडपर्व, उनीहरूका रहनसहन, भेषभँषा, भाषा, संस्कृतिलगायत गतिविधिहरू पुस्तकमा छन् ।

अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको उक्त भुगोल पृथक् सभ्यता, सँस्कृति र सम्भावनाको भूमि हो । राक्सिराङमा चेपाङहरू करिब ३७ प्रतिशत् छन् ।
केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भुगोललगायत पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा पालिकाले स्थानीय पाठ्यक्रमको अवधारणा ल्याएको हो । गाउँको विविध भौगोलिक, सांस्कृतिक, भाषिकलगायत परिवेशका कारण समाजको आबश्यकता र चाहना फरक÷फरक रहेको भन्दै यस सन्दर्भमा पाठ्यक्रम तयार पार्दा स्थानीयताको अवधारणालाई आत्मसात् गरिएको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

स्थानीय आबश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवाला निकायका रूपमा स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी पाठ्यक्रम विकास गरिएको हो । ‘यसमा केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु समावेश छन् । जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम् ज्ञान र सीपको मार्गदर्शन पहिल्याउन सहयोग गर्दछ,’ उहाँले स्थानीयस्तरमा रहेका मुल्य, मान्यता, कला, सँस्कृति संरक्षण र सम्वद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । शैक्षिक विकेन्द्रिकरणको महत्वपूर्ण खुड्किलाकारूपमा गाउँमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारिएको हो ।

पालिकाले पाठ्यपुस्तकमा गाउँका पर्यटकीयस्थल, पालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावनाबारे ज्ञान समेटेको छ ।पुस्तकमा सार्वजनिक महवका क्षेत्र, स्थानीय क्षेत्रको पीडाका रूपमा रहेको प्राकृतिक प्रकोप (चट्याङ, बाढीपहिरो) को सम्भावित क्षेत्र र कारणलगायतका कुरा पनि समेटिएको छ ।स्थानीय तह राक्सिराङ पालिकाको केन्द्र चैनपुर हो । गाउँका ९ वडामा करिब ३० हजार ८ सय ३० घरधुरी र २६ हजार १ सय ९२ जनसंख्या छ । गाउँ २२६.७ वर्गकिमीमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्