स्त्री रोग विषयमा बृहत् निःशुल्क स्वास्थ्य शिविर



नेपाल समाचारपत्र, ललितपुर  ।

शहरी क्षेत्रमा समेत महिलाहरू लाज र संकोचले गर्दा आफुलाई परेको स्वास्थ्य समस्याबारे समयमै परीक्षण गराउन हिचकिच्चाउने गरेको पाइएको छ ।
ललितपुरको नागबहालमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा पनि महिलाहरूको स्वास्थ्यप्रति सोही दृष्टिकोणलाई पुनः प्रमाणित गरेको धारणा चिकित्सकहरूले अघि सारेका छन्   ललितपुर महानगरपालिका वडा नं १६ ले र अरनिको समाजसँग मिलेर सो शिविर आयोजना गरेको हो ।

बृहत् निःशुल्क स्वास्थ्य शिविरको अभियानअन्तर्गत चौथो साता स्त्रीरोगसम्बन्धी शिविर सञ्चालन गरिएको हो । महिलाहरूको तल्लो पेट दुख्ने, पाठेघर, गर्भ तुहिएपछिको अवस्था, स्तन, महिनावारी लगायतकोे जाँच गरिएको थियो । शिविरबाट ८० जना महिला लाभान्वित भएका थिए ।‘गाउँघरमा मात्र होइन, शहरमा पनि समाजले केही भन्लान् वा थाहा पाउँलान् भनेर आफ्नो रोग लुकाउने वा बेवास्ता गर्ने गरेको पाइएको छ । आफ्नो रोगबारे परिवारसंग खुलेर कुरा राख्ने र समयमै परीक्षण गराउने हो भने धेरै रोग लाग्नबाट बच्न सकिन्छ’ –डा. चुनुमिला महर्जनले भन्नुभयो । डा. महर्जनका अनुसार महिलाहरूले आफ्नो जीवनशैलीमा परिर्वतन गर्नुपर्ने, पर्याप्त मात्रामा पानी पिउने, व्यायाम गर्ने, विभिन्न रोगबारे सजग भइरहनुपर्ने स्वास्थ्य परीक्षण गर्न आउनेहरूलाई सल्लाह दिएको बताउनुभयो ।

डा. मर्हजनसहित डा. रश्मि महर्जनले रोग परीक्षण गरेको थियो भने रोगबारे डा. सर्वोेत्तम श्रेष्ठ, डा सुशील प्रजापति,डा. कृष्णगोपाल महर्जनले बिरामीहरूलाई स्वास्थ्य सल्लाह दिनुभएको थियो । सो शिविरमा निःशुल्क औषधीसमेत वितरण गरिएको थियो भने ३० जना महिलाको पायप्स्मेर जाँच गरिएको समाजले जनाएको छ ।स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरूमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियानकैै रूपमा गत माघ १७ गते शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडाहरू क्रमशः ८,९, ११, १२, १९ र २० का मानिसहरू पनि लाभान्वित भएका छन् ।

वडाका वडा सदस्य पञ्चबज्र बज्र्राचार्यका अनुसार आउँदो शनिबार दौबलहालमा पेट तथा कलेजोको शिविर सञ्चालन हुने छ । सो शिविरमा अल्ट्रासाउन्ड पनि बिरामीको स्वास्थ्य परीक्षण गरिने छ । छैटौं तथा अन्तिम शिविर ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर फागुण २२ गते सञ्चालन हुने वडाका ज्येष्ठ नागरिक समितिका संयोजक समेत रहनुभएका वडा सदस्य बज्राचार्यले जानकारी दिनुभयो । सो शिविरमा नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी पनि परीक्षण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्