शौच गरिरहेकी युवतीलाई भालुले टोक्यो



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको अलास्काका एकजना महिलाले शौच गरिरहेको अवस्थामा अचानक एउटा भालुले झम्टिँदा डरले उफ्रिँदै चिच्याएको बताएकी छन् ।

गत सप्ताहान्त चिल्क्याट लेकस्थित एउटा विकट स्थानमा पालबाहिर रहेको शौचालय प्रयोग गरिरहँदा आक्रमणमा परेकी स्टिभेन्सको शरिरमा सामान्य चोटपटक लागेको छ । ढोकाको प्वालबाट टाउको छिराएर भालुले आफुलाई टोकेको वा पन्जाले चिथोरेको कुरा उनले पत्रकारहरूलाई घाउ देखाउँदै भनेकी छन् । आफ्नो भाइ एरिक र उनकी गर्लफ्रेन्डसँग पालभित्र सप्ताहान्त निभाउने क्रममा उनले यो अप्रत्यासित घटना भोग्नुपरेको हो ।

स्टिभेन्सले ऐंकरेज डेली न्युजलाई बताएकी छन् – ‘बेलुका म शौचलयमा बसेको मात्र थिएँ । नितम्बमा केही बेस्सरी बिझेजस्तो लागेर डरले चिच्याएँ । मेरो भाइ टर्च लिएर दौडेर आइपुगे । मैले थुरुथुरु काँप्दै शौचालयतिर औंला तेर्साएँ । भाइले उतातिर टर्चको प्रकाश फाल्दा त्यहाँँ एउटा कालो भालुको थुतुनो देखे । त्यसपछि हामी पालबाट रातभरि बाहिर निस्केनौं । थुप्रै स्थानमा शौचालय प्रयोग गर्ने क्रममा सर्पले टोकेको समाचार बारम्बार सुनिने गरे पनि भालुले आक्रमण गरेको भने यो नौलो र पहिलो घटना हुन सक्छ ।’ उनले सञ्चार–माध्यमलाई भनिन् ।

प्रतिक्रिया दिनुहोस्