रुसी विपक्षी नेता नाभाल्नीको अपिल अस्वीकृत



मस्को, (एजेन्सी)
रुसी विपक्षी राजनीतिज्ञ एलेक्सेइ नाभाल्नीले आफ्नो कैद संजायविरुद्ध गरेको अपिल शनिबार अदालतले अस्वीकार गरेको छ । सुनाइन लागेको संजायको शर्तहरू उल्लंघन गरेको अभियोगमा उनलाई कारावास संजाय दिइएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटर आलोचकको रूपमा चिनिने उनलाई गत महिना जर्मनीबाट स्वदेश फर्केलगत्तै गिरफ्तार गरिएको थियो ।

उनी जर्मनीमा प्राणघातक स्नायु आक्रमण गर्ने विष दिइएको कारण उपचार गराइरहेका थिए । उनले आफुलाई सरकारी पक्षबाटै विष दिइएको दाबी गरे पनि पुटिनले उनको आरोप अस्विीकार गर्दै आएका छन् । उनको यघाशिघ्र रिहाइका लागि संयुक्त राज्य अमेरिकालगायत थुप्रै युरोपेली मुलुकले रुसमाथि दबाब दिएका थिए । नाभाल्नीमा आर्थिक हिनामिनाको अभियोगमा उनलाई चलाइएको मुद्दाको प्रक्रिया सकिनुअघि नै नियम तोडेको आरोप लगाइएको हो । नियमअनुसार उनले रुसी प्रहरीलाई नियमितरुपमा आफ्नो बारे जानकारी दिइरहनु पर्दथ्यो । उनले अदालतमा आफु विषको प्रभाव हटाउन उपचारमा रहनुपरेकाले रुसी प्रहरीको सम्पर्कमा रहन नसकेको जगजाहेरै भएको बताए पनि न्यायाधीशले उनको कुरा नसुनेको बुझिएको छ । उनले आफु अलिकति स्वस्थ हुनासाथै विमान चढेर रुस फर्केको अदालतसमक्ष बताएका थिए् । तर, न्यायाधशिले उनलाई सुनाइएको तीन वर्ष कैदमध्ये ६ साता भने कटौती गरेका छन् ।

शनिबार नै नाभाल्नीका विरुद्ध राष्ट्रपति पुटिनको अपमान गर्ने एकजना दोश्रो विश्वयुद्धकालीन एकजना सैनिकको प्रशंसा गरेको अभियोगमा अर्को मुद्दा शुरू गरिएको छ । केही सातायता नाभाल्नीको रिहाईको माग गर्दै रसियाका विभिन्न शहरमा विरोध प्रदर्शन हुँदै आएको छ ।अदालतको यस पछिल्लो निर्णयका कारण पश्चिम जगत अझै बढि रसियासँग चिढिने लक्षण देखिएको छ । यसअघि नै संयुक्त राज्य अमेरिका र युरोपेली संघले नाभाल्नीकै विषयलाई लिएर रसियामाथि नाकाबन्दी लगाउने चेतावनी दिएका थिए । नाभाल्नीले पुटिनको सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै आलोचना गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्