‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि म्याग्दी र तनहुँलाई



कास्की । पोखरामा सञ्चालन भएको ‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँले जितेका छन् । पोखरा रङ्गशालास्थित ‘भलिबल कोर्टमा’ आज सम्पन्न खेलमा महिलातर्फ राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

म्याग्दीले पर्वतलार्ई २५–१४, २५–१५ र २५–१७ अङ्कले पराजित गरी रु दुई लाख नगदसहित ट्रफी पायो भने उपविजेता बनेको पर्र्वतले रु एक लाख नगदमा चित्त बुझायो । यसैगरी पुरुषतर्फ प्रतिस्पर्धात्मक खेलमा तनहुँ जिल्लाले स्याङ्जालाई ३–२ को सेटमा हराउँदै उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त ग-र्यो भने उपविजेता बनेको स्याङ्जाले रु एक लाख पुरस्कार पायो । तनहुँले २३–२५, २५–१७, २५–२०, १३–२५ र १५–१० अङ्कले स्याङ्जालाई हराएको हो ।

पुरुषतर्फको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले म्याग्दीलाई ३–१ सेटमा पराजित गर्न सफल भयो भने महिलातर्फ तनहुँले कास्कीलाई ३–१ को सेटमा हरायो । तृतीय स्थान प्राप्त गर्न सफल महिला पुरुष दुवै टोलीले समान रु ५० हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिनुभयो ।

कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा यही फागुन ४ गतेदेखि शुरु भएको प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाका महिला तथा पुरुष टोलीले सहभागिता जनाएका थिए । महिलातर्फ राष्ट्रिय भलिबल टोलीका कप्तान म्याग्दीका शाही सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो भने पुरुषतर्फ तनहुँका मिलनचन्द ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्नुभयो ।

महिलातर्फ उत्कृष्ट स्पाइकर तनहुँका उषा भण्डारी, डिफेण्डरमा कास्कीका अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतका हिरा केसी, सर्भरमा म्याग्दीका कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ उत्कृष्ट घोषित हुनुभयो ।

पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा तनहुँका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङ्जाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका विवस थापा, सेटरमा तनहुँका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित हुनुभई जनही रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्नुभयोे । प्रतियोगिताको विजेता टोली तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सङ्घका अध्यक्ष भीम पराजुली लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्