बिकट गाउँमा तयार भयो ‘मेरो राक्सिराङ’



न्युज अफ नेपाल, हेटौंडा ।

देशका ठूला स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गर्न नसकेको बेला मकवानपुरको बिकट गाउँ राक्सिराङले आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको छ । पालिकाले जिल्लामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको हो ।

पालिकाका सबै विद्यालयका कक्षा–१ देखि ५ कक्षासम्म लागु गर्ने गरी गाउँको सेरोफेरोका विभिन्न तथ्य समेटिएको पुस्तक ‘मेरो राक्सिराङ’ तयार गरेको छ । गाउँका माविहरु खैराङको कालिका, सिलिंगेको राष्ट्रिय, सरिखेतको सूर्योदय र चैनपुरको प्रजाकल्याण विद्यालयमा ‘मेरो राक्सिराङ’ पढाइ सुरु भइसकेको छ ।

अतिसीमान्तकृत चेपाङ समुदायको बाक्लो उपस्थिति रहेकाले स्थानीय पाठ्यक्रममा सीमान्तकृत चेपाङ समुदायबारेमा करिब ३५ प्रतिशत्भन्दा बढी ज्ञानवद्र्धक सामग्री समेटिएको छ । चेपाङ जातिले मनाउने चाडपर्व, उनीहरुका रहनसहन, भेषभुषा, भाषा, साँस्कृतिलगायत गतिविधिहरु पुस्तकमा छन् ।

अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता हेको उक्त भूगोल पृथक् सभ्यता, सँस्कृति र सम्भावनाको भूमि हो । राक्सिराङमा चेपाङहरु करिब ३७ प्रतिशत् छन् । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय सँस्कृति, जनजीवन, भूगोललगायत पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा पालिकाले स्थानीय पाठ्यक्रमको अवधारणा ल्याएको हो ।

गाउँको विविध भौगोलिक, साँस्कृतिक, भाषिकलगायत परिवेशका कारण समाजको आबश्यकता र चाहना फरक/फरक रहेको भन्दै यस सन्दर्भमा पाठ्यक्रम तयार पार्दा स्थानीयताको अवधारणालाई आत्मसात् गरिएको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

स्थानीय आबश्यकताका विषयवस्तु त्यहींका नागरिकको अपनत्व हुने गरी सरोकारवाला निकायका रुपमा स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी पाठ्यक्रम विकास गरिएको हो । ‘यसमा केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु समावेश छन् । जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम् ज्ञान र सिपको मार्गदर्शन पहिल्याउन सहयोग गर्दछ,’ उहाँले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला, सँस्कृति संरक्षण र सम्वद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

शैक्षिक विकेन्द्रिकरणको महत्वपूर्ण खुड्किलाकारुपमा गाउँमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारिएको हो । पालिकाले पाठ्यपुस्तकमा गाउ“का पर्यटकीयस्थल, पालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अबस्थिति, ऐतिहासिकस्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावनाबारे ज्ञान समेटेको छ ।

पुस्तकमा सार्वजनिक महत्वका क्षेत्र, स्थानीय क्षेत्रको पीडाका रुपमा रहेको प्राकृतिक प्रकोप (चट्याङ, बाढीपहिरो) को सम्भाव्य क्षेत्र र कारणलगायतका कुरा पनि समेटिएको छ । स्थानीय तह राक्सिराङ पालिकाको केन्द्र चैनपुर हो । गाउँका ९ वडामा करिब ३० हजार ८ सय ३० घरधुरी र २६ हजार १ सय ९२ जनसंख्या छ । गाउँ २२६.७ वर्गकिमीमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्