मुलुक चुनावमा जाने सम्भावना बढ्यो : अध्यक्ष थापा



न्युज अफ नेपाल, भद्रपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय  कमल थापाले मुलुक चुनावमा जाने सम्भावना बढेर गएको सङ्केत गर्नुभएको छ । पार्टीको झापा क्षेत्र नं. ५ समितिद्वारा गौरीगंजमा शनिबार आयोजित वृहत मोटरसाइकल र्यालीको समापन कार्यक्रमलाई संबोधन गर्दै पार्टी अध्यक्ष थापाले केही दिनमै अदालतले चुनावको पक्षमा फैसला गर्ने बताउनुभयो ।

पार्टी नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रहसमेत उहाँले गर्नुभयो । नेपाली जनताले तिरेको कर र विदेशीको
ऋण लिएर संघीयताको बोझलाई नेपाली जनताले धान्न नसकिने बताउँदै अध्यक्ष थापाले संवैधानिक राजासहित हिन्दुराष्ट्रको विकल्प नरहेको दावी गर्नुभयो ।

‘ अब हामीले राजा आऊ देश बचाऊ भन्ने होइन’ हामीले जनता आऊ राजा ल्याऊ, जनता आऊ हिन्दु राष्ट्र ल्याऊ भन्ने हो ।’ उहाँले भन्नुभयो । राजाले मात्र देश बचाउने होइन अब राजा र जनता मिलेर देश बचाउने उहाँको धारणा थियो । २००७ सालमा राजा र जनता मिलेर प्रजातन्त्र ल्याएको स्मरण गराउँदै पार्टी अध्यक्ष थापाले राजा र जनताको साझा प्रयासबाट देश बचाउने र बनाउने काम गर्नुेपर्ने भनाइ राख्नुभएको थियो ।

राजालाई वनवास पठाएर हिन्दुराष्ट्रलाई खारेज गर्दा भोग्नु परेको भोगाइबाट पाठ सिकेर अव नेपाली परिवेशमा सबै अटाउने मौलिक प्रजातन्त्र विकास गर्न उहाँले आग्रह गर्नुभयो । राजसंस्था र हिन्दुराष्ट्रलाई समाप्त पार्दा प्रजातन्त्रको लागि कहिल्यै लड्नु नपर्ने बताएका प्रचण्डलगायतका नेताहरु अहिले सडकमा रहेको देख्दा दया लागेको थापाले टिप्पणी गर्नुभयोे ।

नेकपाभित्रको झगडाका कारण प्रतिनिधिसभाको विघटन गर्न नहुने बताउँदै अध्यक्ष थापाले गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको आलोचना गर्नुभयो । पार्टीका झापा क्षेत्र नं. ५ का क्षेत्रीय अध्यक्ष विजय बरालको अध्यक्षतामा भएको मोटरसाइकल र्यालीको समापन सभामा विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन,पार्टीका केन्द्रीय सदस्य टेकनारायण राजवंशी, प्रदेश नं.१ का संयोजक राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्टलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्