रोटरीद्वारा पत्रकार पुरस्कृत



न्युज अफ नेपाल, काठमाडौं ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले शुक्रबार एक विषेश समारोहबीच विभिन्न पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बसु रोटरी भोकेशनल अवार्ड अन गुड गभर्नेन्स’ रोटरी वर्ष सन् २०१९/२० का लागि खोजी पत्रकारितामा संलग्न दुई जना पत्रकारलाई होटल सोल्टीमा आयोजित एक समारोहबीच प्रमुख अतिथि आर।आई प्रिसिडेन्ट इलेक्ट शेखर मेहताले प्रदान गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि मेहताले समाज परिवर्तनमा पत्रकारिताले ठूलो भूमिका खेल्ने हुँदा रोटरी इन्टरनेशनलले चौथौं अंगका रुपमा स्थापित पत्रकारहरुलाई सम्मान गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभयो ।

पास्ट प्रिसिडेन्ट किरणलाल श्रेष्ठले नेपालको विकासमा पत्रकारिता क्षेत्रले उल्लेख्य भूमिका खेलेकाले रोटरी इन्टरनेशनलले यस क्षेत्रमा संलग्न पत्रकारहरुलाई प्रोत्साहन गर्न ‘जर्ना’ अवार्ड स्थापना गरेको बताए । रोटरी डिष्ट्रिक ३२९२ नेपालले शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा बालबालिका बिटमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई हरेक वर्ष ‘जर्नो’ अवार्डबाट सम्मान गर्दै आएको छ ।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै खोज पत्रकारिताको माध्यमबाट सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले दश लाख रुपैयाँको उक्त पुरस्कार रोटरी वर्ष २०१९/२० का लागि छापामाध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन सञ्चारको माध्यमबाट हाम्राकुरा डटकम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीलाई प्रदान गरिएको छ ।

प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने उक्त एवार्ड यस पटक पुरस्कृत व्यक्ति र संस्थालाई जनही पाँच–पाँच लाखका दरले वितरण गरिएको छ । उक्त पुरस्कार इञ्जीनियर रोटेरियन सुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गर्नु भएको हो ।

ई. जोशी रोटरी क्लब अफ यल पाटन ललितपुरका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष हुन् । सुशासनविना देशको आर्थिक विकास अवरुद्ध हुने भएकाले सुशासनका लागि निरन्तर कलम चलाउँदै आएका रिजाल र सिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

सोही अवसरमा दृष्टि साप्ताहिकमा प्रकाशक तथा सम्पादक बरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट राजनीति तथा सामाजिक र आर्थिक क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै बरिष्ठ पत्रकार श्रेष्ठलाई सम्मान प्रदान गरिएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले जनाएको छ ।

रोटरी वर्ष २०१९/२० मा ‘जर्नो’ अवार्ड आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौ, शिक्षा पत्रकारितातर्फ दिपेन्द्र प्रसाद सिंह (न्यूज कारोवार डटकम) र आजको शिक्षा धनुषा, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौं र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौंलाई प्रदान गरिएको छ ।

यसैगरी प्रदेश अन्तर्गत विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केरनीन्यूज डटकम) कैलालीलाई वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्