बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त



लण्डन ।

बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त हुनुभएको छ । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहनु भएकी उहाँकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।

केही महिना अगाडि उहाँहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो ।तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उहाँहरुको मान पदवी खारेज भएको घोषणा गर्नु भएको समाचारमा जनाइएको छ ।

बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उहाँहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।

महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

राजपरिवारको सदस्यका रूपमा उहाँहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।
गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गर्नुभएको थियो ।

उहाँहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहनु भएको छ । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।

हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गर्नु भएको हो । उहाँहरुका अहिले एक छोरा हुनुहुन्छ भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्