‘श्री’ को सम्मान



न्युज अफ नेपाल, काठमाडौं ।

कीर्तिपुरस्थित भत्केको पाटीलाई पृथ्वीचोक नामकरण गर्ने सामाजिक सद्भाव राष्ट्रिय एकता अभियान सञ्चालकहरुले सरस्वती पूजाका दिन ‘श्री’ को सम्मान गरेर त्यस अभियानलाई सघाएका छन् ।

अभियन्ता ध्रुव बस्नेतको निवास, कीर्तिपुर–४, टुसाल, चम्पादेवीमा श्रीपञ्चमीका दिन ‘श्री’ अंकित शिलापत्र बनाई तुलसाको मठजस्तै घर–आँगनमा स्थापना गरी नियमित पूजा गर्ने अभियान थालेका हुन् ।

‘श्री समृद्धि र एकताको परिचायक हो, त्यसैले हरेक शुभकार्य, ग्रन्थ मात्र होइन सामान्य चिठीपत्रमा पनि श्री लेखेर प्रारम्भ गरिन्छ, यो हाम्रो परिचान हो, तर पछिल्लो समय हामीले यो संस्कार छोडिसक्यौं, त्यसलाई पुनर्जीवन दिनु यस अभियानको उद्देश्य हो’ बस्नेतले भन्नुभयो– नेपालको संविधान, २०७२ श्रीविहीन भएकाले राम्रो भएर पनि अपूर्ण छ, विभिन्न समस्याहरु आइलागेका छन् ।

मातृभाषा नेपालीका अभियन्ता रामेश्वर राउतको प्रमुख आतिथ्यमा सम्पन्न श्री अभियान समारोह कार्यक्रममा ज्येष्ठ नागरिक बद्रीप्रसाद रिजाल (८६), इन्द्रबहादुर बोहरा (८२), नहकुल बस्नेत (७३), कुसु घले (६०) र सत्यनारायण मानन्धर (६४) लाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा सहप्राध्यापक उमाकान्त सिंह लगायतले ‘श्री’ को महत्वमाथि प्रकाश पार्दै राष्ट्रिय एकताको भावना अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्