राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान सञ्चालन



फुङ्लिङ ।     

फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ ।

ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् । फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य शुरु गर्ने कार्ययोजना तयार भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताउनसभयो । विवरण सङ्कलन कार्य प्रत्येक वडामा गरिने छ ।

विभागका अनुसार वडाभित्रको जनसङ्ख्याको आकारअनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण सङ्कलन स्टेशन तोकिने भएको छ । एउटा स्टेशनबाट दैनिक न्यूनतम ४० सम्मको विवरण सङ्कलन गर्ने विभागको तयारी रहेको निर्देशक उपाध्यायले बताउनसभयो । वडास्तरमा दर्ता अभियान सञ्चालन, रुजु र राष्ट्रिय परिचय नम्बर जारी र केन्द्रीय प्रणालीमा डाटा अपलोड अबका कार्य हुनेसमेत विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार ताप्लेजुङ सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतसँग विवरण सङ्कलन कार्यमा सहयोगसमेत माग गरेको छ ।

कार्यक्रममा सबै स्थानीय तहका प्रमुखले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्यमा स्थानीय तहबाट सक्दो सहयोग पुग्ने बिश्वास दिलाए । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले राष्ट्रिय महत्वको महान पर्वझैँ भएकाले यो अभियान सफल बनाउनु स्थानीय तहको प्रमुख उपलब्धि हुने बताउनुभयो ।

परिचयपत्रको विवरण सङ्कलनका लागि सरकारले अर्को कार्यक्रम र बजेट खर्च नगर्ने स्पष्ट पार्दै यही एउटै मौकामा आफ्नो विवरण भर्न सबैलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले आग्रह गर्नुभयो । सङ्कलन गरिएका नागरिकका विवरण निर्वाचन प्रयोजनका लागि र मतदाता नामावली र परिचयपत्रलाई मतदाता परिचयपत्रको रुपमा प्रयोग गर्न सकिने बनाउने तयारी भइरहेको महानिर्देशक बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्